आज यी पाँच प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहानैदेखि देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आज सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको यी क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।