आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना आजदेखि मौसममा क्रमिक सुधार हुने
काठमाडौं।मौसममा आजदेखि क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले शनिबारदेखि मौसममा क्रमिक सुधार हुने पूर्वानुमान् गरिएको छ।
न्यूनचापीय रेखा भने सरदरस्थान भन्दा उत्तरतर्फ नै छ। ‘न्यूनचापीय रेखा उत्तरतर्फ रहेपनि जलवाष्पयुक्त वायु कम आउने भएकाले क्रमिक रूपमा मौसम सुधार हुँदै जाने छ।
भारी वर्षा कम हुने, लगातार पानी नपर्ने आदी सुधारहरू मौसममा देखिने छन्। मनसुन अवधिभर मौसम सुधार हुने र बदली हुने प्रक्रिया चलिरहन्छ।
अहिले नेपालमा भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भूभागमा रहेको न्यूनचापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ।
महाशाखाका अनुसार अहिले कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
मौसमविद्का अनुसार लुम्बिनी,सुदूरपश्चिम र कर्णाली प्रदेशका पनि केही भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।
महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
राति कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन,सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा,जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।