प्रतिनिधिसभा अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध
काठमाडौं। प्रतिनिधिसभाका अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध चुनिने भएका छन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुनेछ। प्रतिनिधिसभा अन्तर्गतका दश वटा विषयगत समितिका लागि आइतबार भएको मनोनयनमा नौ वटा समितिको सभापतिका लागि एकल उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित हुने भएका हुन। यद्यपी त्यसको औपचारिक घोष्णा हुन भने बाँकी छ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलहरूबीच सभापतिमा भागवण्डा मिलेपछि निर्विरोध भएको हो। निर्विरोध सभापतिमा निर्वाचित हुनेहरुमा सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा रहेका छन्।
यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदी र पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको पनि एकल उम्मेदवारी रहेको छ।
यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव र स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित हुने भएका छन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेकाले निर्वाचन हुने भएको हो।