महिला टी-ट्वान्टी क्रिकेट : मलेसियाविरूद्ध नेपालको सानदार जित

फाइल तस्वीर

काठमाडौं । मलेसियामा आजबाट सुरु महिला टी-ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुआत गरेको छ।

मलेसियाको बायोमास ओभल मैदानमा विजयी सुरुआत गर्ने क्रममा नेपालले घरेलु टोलीलाई ५ रनले पराजित गरेको हो। नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो।

मलेसियाका लागि उनिफ्रेड दुराईसिंघमले सर्वाधिक २८ रन बनाईन्। नेपालका लागि कविता कुँवर र कविता भट्टले समान २/२ तथा रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले समान १/१ विकेट लिईन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो। नेपालका लागि ओपनर सिताराना मगरले ५४ बलमा १ चौकाको सहयोगमा अविजित ३८ रन बनाईन्।

अप्सरी बेगमले १७ तथा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। मलेसियाकी एना हमिजाले २ विकेट लिईन्।

यस प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ। सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ।

प्रतियोगितामा समूह ए मा नेपाल,बहरान,भुटान,मलेसिया,कतार र युएई छन्। समूह बी मा चीन,हङकङ,थाईल्यान्ड,कुवेत र म्यानमार छन्।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।