महिला टि-२० विश्वकप एसिया छनोट: नेपालको लगातार चौथो जितसँगै सेमिफाइनलको स्थान पक्का
काठमाडौं। नेपालले आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ। लगातार चौथो जितका साथ समूह ए बाट नेपालले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य नेपालले १०.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा ओपनर काजल श्रेष्ठले २८ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनको योगदान दिइन्। त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन्। ओपनर सीता रानामगर २३ बलमा १७ रनमा नटआउट रहिन्।
त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाउन सकेको थियो। कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन्। तर त्यो रन नेपाललाई हराउन पर्याप्त थिएन।
समूह ए मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो। नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ।
युएईसँगको खेलले समूह विजेता र उपविजेता निर्धारण हुने देखिन्छ। नेपाल ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमाछ। युएई ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ।
समूह बी मा हङकङ ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ। थाईल्यान्ड २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ। कुवेत २ खेलमा २ अंकका साथ तेस्रो, चीन तीन र म्यानमार दुई खेलमा जित विहीन छन्।
समूह ए को विजेताले समूह बी को उपविजेतासँग सेमिफाइनलमा खेल्नेछ। समूह ए को उपविजेताले समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ। फाइनल पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल महिला टि-२० विश्वकप छनोट खेल्न पाउनेछन्।