साफ यू–१६ च्याम्पियनसिप: नेपाल आज भारतसँग भिड्दै
काठमाडौं। भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह चरणमा आफ्नो दोस्रो खेलमा बुधबार भारतविरुद्ध खेल्दैछ।खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ।
तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएपछि भारतविरुद्धको खेलमा नेपाल गर या मरको स्थितिमा छ। समूह चरण पार गर्न नेपालले भारतलाई जित्नैपर्ने दबाब छ। भारतसँग बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ।
यस समूहमा भारत र बंगलादेशको समान ३ अंक छ। बंगलादेशले दुवै खेल खेलिसकेको छ। यदि नेपालले भारतलाई हराएको अवस्थामा भने तीनवटै टोलीको समान अंक हुनेछ र यस्तोमा हेड टु हेड र गोलअन्तर निर्णायक बन्नेछ।
भारत साविक विजेता समेत हो भने नेपाल साविक उपविजेता हो। गत वर्ष श्रीलंकामा भएको संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। त्यसबेला नेपालले समूह चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो तर फाइनलमा भने ४–० ले पराजित भएको थियो।