गृह मन्त्रालयले ग-यो १० सहसचिवको सरुवा,को कता ?
काठमाडौं। गृह मन्त्रालयले १० सहसचिवहरुको सरुवा गरेको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेर सहसचिवहरुको सरुवा गरेका हुन्।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रूद्रसिंह तामाङलाई सरूवा गरिएको छ।
विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा सरूवा गरिएको छ। महानिर्देशकमा सरुवा भएर गएका तामाङको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदी दाङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएका छन् भने दैलेखका सिडिओ गोगनबहादुर हमाल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृत भएर सरूवा भएका छन्।
रूपन्देहीका सिडिओ भरतमणि पाण्डे गृह मन्त्रालयमा तानिएका छन् भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याल रूपन्देहीको सिडिओ भएर गएका छन्।
यस्तै, गृह मन्त्रालयमा कार्यरत सहसचिव शिवराम गेलाल महोत्तरीको सिडिओ भएर गएका छन् भने महोत्तरीका सिडिओ दीपक कुमार पहाडी गृह मन्त्रालयमा सरुवा भएका छन्।
यसैगरी भक्तपुरका सिडिओ खगेन्द्रप्रसाद रिजाल पनि गृह मन्त्रालयमा सरूवा भएका छन् भने बाग्लुङका सिडिओ रोशनीकुमारी श्रेष्ठ भक्तपुरको सिडिओ भएकी छन्।