द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्त  

” व्यवहार ,ज्ञान ,फेरि व्यवहार र फेर ज्ञान। यो क्रम अनन्तरुपले दोहोरीएर रहन्छ र प्रत्येक आवृत्तिका साथै व्यवहार र ज्ञानको सारतत्व माथिल्लो स्तरमा पुग्दछ। यो नै सम्पूर्ण द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त हो र यो नै बोध र कार्यको एकतासम्बन्धि द्वन्द्वात्मक भौतिकवादी सिध्दमन्त हो।- माओ त्सेतुङ,संकलित रचनाहरु,भाग १ ,पृष्ठ २४६ ,सिर्जनशील प्रकाशन ,मैतिदेवी ,काठमाडौं ,दोस्रो संस्करण, २०५७ मंसिर ,अनुवाद : कृष्णदास श्रेष्ठ।

द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त अत्यन्तै गहन विषय हो। यो विश्वदृष्टिकोणको विषय पनि। त्यसैले द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तसम्बन्धि यति ठूलो गहन दार्शनिक विषयलाई जान्न चाहने,बुझ्न चाहने र ज्ञान आर्जन गर्न चाहने सर्वसाधारण अध्यताहरुलाई सजिलो हुनेछ भन्ने आशयले सकेसम्म साधारण भाषा , शैली र दार्शनिक पदावली प्रयोग गर्ने अधिकतम प्रयत्न गर्दै लेखन कार्यलाई अगाडि बढाइएको छ।
 
हामीले बुझ्ने के कुरा हो भने द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त दर्शनशास्त्रको मौलिक प्रश्नसित सम्बन्धित विषय हो।
 
त्यसैले भौतिकवादी ज्ञान सिध्दान्त सत्ता र चिन्तनकाबीच द्वन्द्वात्मक एकता हुन्छ। संसार अज्ञेय होइन,ज्ञेय छ,मानिसको चेतनाले संसारलाई प्रतिबिम्बन गर्ने सामर्थ्य राख्दछ । विश्वलाई त्यसको सारतत्व तथा नियमलाई बुझ्न र बदल्न सकिन्छ भन्नु नै द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तको मूल विषय हो । 
         
हामीले द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तको स्रोत के हो ? ज्ञान कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने कुरा बुझ्न अति जरुरी हुन्छ ।
 
(१) ज्ञानको स्रोत :
 
ज्ञानको स्रोत के हो ? ज्ञानको उत्पत्ति कसरी हुन्छ ?  ज्ञान कसरी प्राप्त गर्न सकिन्छ ? यी प्रश्नहरु ज्ञान सिध्दान्तको क्षेत्रमा प्राथमिक महत्त्वका विषय हुन्। यसबारे मार्क्सवाद – लेनिनवाद – माओवादको सिधा र स्पष्ट जवाफ छ – ज्ञानको स्रोत वस्तुगत जगत र सामाजिक व्यवहार हो।
 
हाम्रो वरिपरिको समाज हो। यसलाई अझै यसरी सरल तरिकाले स्पष्ट पार्न सकिन्छ कि ज्ञानको स्रोत भौतिक संसार हो । वस्तुगत ( पदार्थ ) जगत हो र ज्ञानको उत्पत्ति मान्छेका उत्पादन सम्बन्धि गतिविधिहरुका बीचबाट हुन्छ।
 
प्रकृतिसितको संघर्ष , उत्पादन संघर्ष , वैज्ञानिक खोज र प्रयोगकाबीचबाट हुन्छ। अर्थात् उत्पादनका लागि संघर्ष , वैज्ञानिक प्रयोग र वर्गसंघर्ष सम्बन्धि व्यवहारकाबीचबनट ज्ञानको उत्पत्ति र विकास भएको हो भन्ने वैज्ञानिक तथ्य स्पष्ट भएको छ।
       
त्यसैले  ज्ञानको प्रारम्भिक विन्दु मान्छेको सामाजिक व्यवहार हो। जब मान्छे उत्पादन कार्यमा सहभागी बन्छ,त्यसबेला उसले प्रकृतिसित संघर्ष गर्नुपर्छ , वैज्ञानिक प्रयोगको निम्ति उसले आफूमा भएको क्षमता ,योग्यता र सिपको प्रयोग गर्दछ , त्यसका निम्ति आौजार र साधनहरु खोजी गर्ने र निर्माण गर्ने कार्यमा संघर्ष गर्दछ , यो कार्य सामाजिक व्यवहारविना सम्भव हुदैन। ऊ सामाजिक जीवनमा जोडिनु अनिवार्य हुन्छ।
 
त्यसैले सामाजिक व्यवहार नै मान्छेको ज्ञान प्राप्तिको स्रोत बन्दछ । यसरी निष्कर्षमा पुग्न सकिन्छ कि उत्पादनका लागि संघर्ष , वैज्ञानिक प्रयोग र वर्गसंघर्ष सम्बन्धि व्यवहारबाट नै ज्ञानको उत्पत्ति र विकास भएको हो  भन्ने वैज्ञानिक तथ्यहरुले पुष्टि गरिसकेको विषय हो।
   
यस विषयमा कमरेड माओले भन्नुभएको छ ,” मान्छेले आफ्ना भौतिक आवश्यकताहरु पुरा गर्न उत्पादनमा लाग्दछन्। मानव ज्ञान विकसित हुने प्राथमिक स्रोत यही नै हो ।- माओ त्सेतुङ ,संकलित रचनाहरु भाग १ ,पृष्ठ २६८ ,सिर्जनशील प्रकाशन , मैतिदेवी , काठमाडौं ,२०५७। 
   
द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त भौतिक संसार र चेतनाबीचको सम्बन्धको आधारभूत सवालको अर्को महत्त्वपूर्ण पक्षसित सम्बन्धित छ। आफू बसिरहेको संसारलाई हामी जान्न सक्छौ कि सकदैनौ ? के त्यो यथार्थको ठिक प्रतिबिम्ब हुन सक्छ ? के सत्ता ( पृथ्वी ) र चिन्तनको मेल हुन सक्छ ? यी प्रश्नहरुको जवाफ पनि भौतिकवाद र आदर्शवादले एकदमै भिन्न भिन्न ढंगले दिएका छन्।
 
यस विषयमा दार्शनिकहरु दुई विपरीत खेमामा विभाजित छन्। यो हामी बसिरहेको संसार ज्ञेय छ , बुझ्न र जान्न सकिने मात्र होइन यसलाई बदल्न सकिन्छ भन्ने दार्शनिकहरु भौतिकवादी खेमामा खडा भएका छन् भने यो संसार यो संसार अज्ञेय छ,यसलाई बुझ्न र बदल्न सकिदैन भन्ने दार्शनिकहरु आदर्शवादी  खेमामा खडा हुन पुगेका छन्।
 
यसबाट स्पष्ट हुन्छ कि द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त अज्ञेयवादका विरुद्ध परिलक्षित रहेको छ । भौतिकवादी ज्ञान सिध्दान्तले दुनियाँलाई बुझ्ने मात्र होइन यसलाई बदल्ने हो भन्ने कुरालाई ग्रहण गर्दछ। 
 
(२) व्यवहार नै ज्ञान प्राप्तिको पहिलो आधार :
 
 द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तका अनुसार प्रकृति र समाजलाई बदल्न मानिसले गर्ने सक्रिय क्रियाकलापलाई व्यवहार भनिन्छ। श्रम र भौतिक उत्पादन नै व्यवहारको आधार हो। सर्वप्रथम स्वयं ज्ञान नै व्यवहारको आधारमा र मुख्यतया भौतिक उत्पादनको प्रभावले गर्दा उत्पन्न भएको थियो भन्ने कुरा नै द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तले प्रमाणित गरिदिएको छ।
 
यस विषयमा कमरेड माओले यसरी व्याख्या गर्नुभएको छ ,” व्यवहारद्वारा सत्य पत्ता लगाऊ र फेरि व्यवहारद्वारा सत्यको पारख गर।  इन्द्रियग्राह्य ज्ञानबाट शुरु गर र सक्रियतापूर्वक त्यसलाई बुध्दिसंगत ज्ञानमा विकसित गर,अनि बुध्दिसंगत ज्ञानबाट शुरु गर र मनोगत तथा वस्तुगत दुबै संसारलाई फेर्नका लागि सक्रिय रुपले क्रान्तिकारी व्यवहारको पथप्रदर्हन गर।
 
व्यवहार ज्ञान , फेरि व्यवहार , फेरि ज्ञान । यो क्रम अनन्त रुपले दोहोरिन्छ र प्रत्येक आवृत्तिका साथसाथै व्यवहार र ज्ञानको सारतत्व।माथिल्लो स्तरमा पुग्दछ । यो नै सम्पूर्ण द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त हो र यो नै बोध र कार्यको एकता सम्बन्धि द्वन्द्वात्मक भौतिकवादी सिध्दान्त हो ।”- माओ त्सेतुङ , संकलित रचनाहरु,भाग १ ,पृष्ठ २४७ ,उही। कमरेड माओका यी भनाइहरु मननयोग्य रहेका छन्। 
 
(३) ज्ञानको दुई छलाङको सिद्धान्त : 
 
मानिसको ज्ञानको क्षेत्र ज्यादै विशाल र असिमित छ। मानिसले कसरी प्रत्यक्ष रुपमा ज्ञान प्राप्त गर्न सक्छ त ? यो ज्यादै महत्त्वपूर्ण प्रश्न हो। मानिसको ज्ञान  ज्ञानिन्द्रियहरु जस्तै – नाक,कान,आँखा,मुख,छाला आदिद्वारा रुप,रस , गन्ध, स्पर्श , शब्द ,।संवेदनाहरुको ज्ञानसितै शुरु हुन्छ।
 
यसै प्रक्रियामा संसारलाई प्रत्येक्ष  र जान्न सकिन्छ ।यो नै इन्द्रियग्राह्य ज्ञान हो। यस प्रकारको ज्ञान मानिसको निम्ति अझै अधुरो हुन्छ। त्यसैले मानिसको ज्ञानले बुध्दिजन्य ज्ञानमा छलाङ हान्न जरुरी हुन्छ। संवेदना,संस्कार र प्रत्येक्षबाट प्राप्त ज्ञानलाई बुध्दिजन्य ज्ञानमा समृद्ध तुल्याउने काम हुन्छ। यसमा वस्तुहरुको समग्रता,सारतत्व र आन्तरिक सम्बन्धलाई संश्लेषित गरिन्छ।
 
त्यसपछि यसै क्रममा मानिसमा धारणा , निर्णय , निष्कर्ष , नियम वा सिध्दान्तको जन्म हुन पुग्छ। अनि फेरि यस प्रकारको बुध्दिजन्य ज्ञानले व्यवहारमा छलाङ हान्नु पर्दछ।यस विषयमा कमरेड माओले अगाडि भन्नु हुन्छ,”इन्द्रियग्राह्य ज्ञानबाट आरम्भ गर्नु र त्यसलाई गत्यात्मक रुपले बुध्दिसंगत ज्ञानमा विकसित गर्नु ,त्यसपछि बुध्दिसंगत ज्ञानबाट आरम्भ गरेर गत्यात्मक रुपले क्रान्तिकारी व्यवहारको प्रदर्शन गर्नु , जसबाट कि आत्मगत र वस्तुगत संसारमा परिवर्तन ल्याउन सकियोस्। 
   
व्यवहार , ज्ञान , फेरि व्यवहार , फेरि ज्ञान। यो क्रम अनन्त  कालसम्म आवृति भइरहन्छ र हरेक आवृतिको साथमा ज्ञानको अन्तर्वस्तु अरु बढी उच्चस्तरमा पुग्दै जान्छ।”- माओ त्सेतुङ,संकलित,रचनाहरु ,भाग १ ,पृष्ठ २६७,सिर्जनशील प्रकाशन ,मैतिदेवी,काठमाडौं,२०५७। अत: व्यवहारबाट सिध्दान्त र सिध्दान्तबाट व्यवहार यही नै द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तक‍ो दुई छलाङको सिध्दान्त हो। 
 
  (४) सत्यको वस्तुनिष्ठता: 
 
 हामीले बुझ्ने कुरा के हो  भने मानवीय ज्ञान सत्यको अन्तर्वस्तु वस्तुगत जगत हुन्छ। हाम्रो ज्ञानको अन्तर्वस्तु विषयी अर्थात् मानिस होइन,विषय अर्थात् वस्तुगत संसारमा आधारित हुन्छ । द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तका अनुसार मानिसको आत्मा वा मन भन्दा बाहिर प्रकृति वा वस्तुजगतको स्वतन्त्र अस्तित्व छ र त्यो मानिसको आन्तरिक मनमा प्रतिबिम्बित हुन्छ । यही नै सत्यको वस्तुनिष्ठता हो। 
 
(५) व्यवहार नै सत्यको कसौटी : 
 
मार्क्सवादी दार्शनिकहरुले व्यवहारलाई नै सत्यको कसौटी हो भन्ने प्रमाण प्रस्तुत गरेका छन्। द्वन्द्वात्मक भौतिकवादमा सत्य भन्नाले वस्तु सम्बन्धि त्यो ज्ञानलाई बुझिन्छ , जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्दछ र जुन त्यसको अनुरुप हुन्छ। यस विषयमा लेनिनले भन्नुभएको छ,” सत्य भनेको हाम्रो ज्ञानको यस्तो सार हो , जुन  मानिसमा भर पर्दैन , मानव जातिमा भर पर्दैन।
 
त्यसको सार तिनै वस्तुगत प्रक्रियाहरुको निरुपित गर्दछन् ,जसलाई त्यसले प्रतिबिम्बित गरेको हुन्छ।”- लेनिन , संकलित रचना संग्रह , खण्ड १८ , पृष्ठ १३७।
अब प्रष्ट भयो कि सामाजिक व्यवहार मात्र सत्यको कसी बन्न सक्छ। ज्ञान सम्बन्धि द्वन्द्वात्मक भौतिकवादी सिध्दान्तमा व्यवहारको दृष्टिकोण प्राथमिक र आधारभूत दृष्टिकोण हो। 
 
(६) ज्ञान सिद्धान्तको विधि : 
 
  ज्ञान सिद्धान्तको विधि अन्तर्गत विभिन्न विषय पर्दछन्,जस्तै :
 
पहिलो – कुनै पनि वस्तु वा  प्रकृतिलाई ठिकसित बुझ्न , त्यसका नियम पत्ता लगाउन र त्यसको राम्रो निरक्षण वा जाँचबुझ गर्नु पर्दछ । अनि त्यसलाई प्रयोगमा ल्याएर सिध्द गर्नु पर्छ निरक्षण र प्रयोग परस्पर सम्बन्धित छन्। 
 
दोस्रो – ज्ञानको विधि , निगम र आगमनको द्वन्द्वात्मक सम्बन्धमा आधारित हुन्छ। निगमनलाई सामान्य र आगमनलाई विशेष रुपमा बुझ्नुपर्छ । निगमन र आगमनको विधिले सिध्दान्त र व्यवहारको द्वन्द्ववादलाई प्रस्तुत गर्दछ।
 
तेस्रो –  ज्ञान मूर्त र अमूर्तको द्वन्द्वात्मक विधिका रुपमा विकसित हुन्छ । चिन्तनको विकास कुनै ठोस वस्तुको मूर्त प्रत्येक्षबाट अमूर्त हुँदै मूर्तमा जाने प्रक्रियाका बीचबाट हुने गर्दछ ।
 
चौथो –  ज्ञानको अर्को विधिको नाम ऐतिहासिक र तार्किक विधि हो । ऐतिहासिक विधिले कुनै पनि वस्तुको तथ्यांकगत विकास प्रक्रियाको तस्बिर प्रस्तुत गर्दछ । अनि तार्किक विधिले त्यस तस्बिरलाई बौद्धिक नियमसंगतिमा ढालि  दिन्छ ।
 
पाँचौ – ज्ञान सिध्दान्तको एउटा महत्त्वपूर्ण विधिको नाम हो – विश्लेषण र संश्लेषणको एकता हो। कुनै पनि वस्तुलाई अंश अंशमा केलाउनु , वर्गीकरण गर्नु ,विविध ढंगका अन्तर्विरोधहरुलाई दर्शाउनु विश्लेषण हो। अंश अंशलाई समग्रमा ल्याउनु वर्गीकृत वस्तुलाई एकीकृत गर्नु र विविध अन्तर्विरोधहरुलाई समाधान तर्फको बाटो देखाउनु संश्लेषण हो। कुनै पनि क्रान्तिका विशेषताहरुको विवेचना गर्नु विश्लेषण हो भने त्यसको समाधान दिनु संश्लेषण हो।
     
अत: समग्रमा भन्नु पर्दा द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त अन्तर्गत आत्मगत र वस्तुगत पक्ष , सिध्दान्त र व्यवहार तथा भनाई र गराएका बीच द्वन्द्वात्मक एकता कायम गर्नुपर्ने कुरामा विशेष जोड दिइन्छ ।
 
(७) निष्कर्ष : 
 
मार्क्सवादका विविध पक्षहरुमा गहिरो ज्ञान प्राप्त गर्नका लागि द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तले महत्त्वपूर्ण मद्दत गर्दछ। किनभने ज्ञान प्राप्तिको सन्दर्भमा हामी कुन निष्कर्षमा पुग्दछौ भने हरेक वस्तुको विकास छिपछिपेबाट गहिरातिर , सरलबाट जटिलतिर,सानोकाट ठूलोतिर ,सजिलोबाट अप्ठ्यारोको बाटोबाट मात्र अगाडि बढ्न सक्छ। यो नै द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तको प्रमुख आधार हो। 
   
त्यसैले हाम्रो क्रान्तिकारी जीवनमा द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तको महत्त्वपूर्ण स्थान रहेको छ। किनभने द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो। यसकै आधारमा मात्र हामी संसारलाई बुझ्न र बदल्न र वर्गविहिन,राज्यविहिन वैज्ञानिक साम्यवादी नौलो मानव समाजको निर्माण गर्न सक्षम हुन्छौं।