पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर,माओवादी कोटाबाट पुगेका थिए सरकारमा

काठमाडौं । पूर्वमन्त्री तथा अवकाशप्राप्त सचिव रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर भएका छन्‌ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला गर्दै विशेष अदालतले श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको हो ।

विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले पूर्वमन्त्री श्रेष्ठलाई बिगो बमोजिमको सम्पत्ति जफत गरी ६ महिना कैद र ९८ लाख २९ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

सम्पत्ति अस्वाभाविक देखिएपछि श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वि.सं. २०७८ फागुनमा चार करोड ४५ लाख २७ हजार रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

श्रेष्ठले वि.सं.२०२६ चैत १८ गते शिक्षक पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनी वि.सं. २०३६ कात्तिक २६ गते शाखा अधिकृत नियुक्त भएका थिए । पदोन्नती हुँदै वि.सं. २०६४ माघ ८ गते उनी सचिव पदबाट सेवानिवृत्त भएका थिए।

खिलराज रेग्मी नेतृत्वको मन्त्रीपरिषद्‌मा श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालय सम्हालेका थिए ।

अख्तियारले श्रेष्ठको कूल ११ करोड ३५ लाख ४४ हजार रुपैयाँ बराबरको सम्पत्तिमध्ये चार करोड ४५ लाख २७ लाख रुपैयाँको स्रोत नखुलेको जनाएको थियो। स्रोत नखुलेको अकुत सम्पत्ति आर्जनमा श्रेष्ठकी पत्नी र छोरालाई पनि विशेष अदालतले दोषी ठहर गरेको छ ।

गोरखाको आरुघाटमा जन्मिएका श्रेष्ठ स्थानीय भीमोदय माविका शिक्षक थिए । हालका प्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समय सोही विद्यालयमा पढाउँदा श्रेष्ठ प्रधानाध्यापक थिए । सोही चिनजानका आधारमा श्रेष्ठले माओवादी शान्ति प्रकृयामा आएपछि सम्बन्ध थप विस्तार गरेका थिए।

निकट सम्बन्ध भएकै कारण प्रचण्डले रेग्मी नेतृत्वको सरकारमा श्रेष्ठलाई आफ्नो दलको कोटाबाट सिफारिस गरेका थिए।