आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ भने कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।