एमसीसी कार्यान्वयनको गाँठो फुकाउन सिइओ नेपाल आउँदै
काठमाडौं। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइट भोलि काठमाडौं आउँदैछिन्।
काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसी–नेपाल कम्प्याक्टको बारेमा विभिन्न विषयमा छलफल गर्न सीईओ एलिस अल्ब्राइटको नेपाल भ्रमण र उनको पाँच दिने नेपाल बसाइको पुष्टि गरेको छ।
एमसीसीका सीईओ एलिस अल्ब्राइट अमेरिका/नेपाल द्विपक्षीय साझेदारी र एमसीसी नेपाल कम्प्याक्टको सफल सुरुवातको उत्सव मनाउन अर्को हप्ता नेपाल आउनेछन्,काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
सीईओ एलिसले आफ्नो भ्रमणको क्रममा नेपाल सरकारका वरिष्ठ नेताहरू र एमसीसी कार्यान्वयनसँग सम्बन्धित चुनौतिहरूलाई सम्बोधन गर्न र कम्प्याक्टका अन्य विवादहरुमा पनि छलफल हुने जनाइएको।
सीईओ एलिसको यात्रा कार्यक्रममा काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत उच्चपदस्थ सरकारी अधिकारीसँग भेटघाट हुनेछ।
एमसीसी–नेपाल कम्प्याक्ट प्रारम्भिक हस्ताक्षर भएको दुई वर्षपछि नेपालको संसदले अनुमोदन गरेपछि औपचारिक रूपमा पाँच वर्षे कार्यान्वयन चरणमा प्रवेश गरेको छ। तर, ठेक्का प्रक्रिया र जग्गा अधिग्रहण सम्बन्धी जटिलताले कार्यान्वयन प्रक्रियामा अनिश्चितता ल्याएको छ।
हाल सामना गरिरहेको प्रमुख अवरोधहरूमध्ये एउटा प्रसारण लाइन निर्माण हो, जहाँ छनोट गरिएको बोलपत्रदाताले आयोजनाको लागत प्रारम्भिक अनुमानभन्दा बढी हुन सक्ने संकेत गरेका छन्।