प्रधानमन्त्री दाहाल र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेटवार्ता

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइट र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न अल्ब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्।

प्रधानमन्त्रीको सचिवालय अनुसार दुईजनाबीच नेपाल र अमेरिकाबीचको सहकार्यका विभिन्न आयामबारे छलफल भएको थियो। त्यस्तै एमसीसी परियोजनाबारे पनि दुईजनाबीच छलफल भएको छ।

नेपाल भ्रमणमा रहेकी सीईओ अल्ब्राइटले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन्। एमसीसी परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अल्ब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौँ आइपुगेको हो।

नेपाल र एमसीसीबिच २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो। उक्त सम्झौता संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीस्थित अमेरिकी विदेशमन्त्रालयमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशले हस्ताक्षर गरेका थिए।

यस कार्यक्रम अन्तरगत विद्युत प्रशारण लाइन निर्माण तथा सडक मर्मत सम्भार सम्बन्धी दुईवटा आयोजना रहेका छन्।