प्रधानमन्त्री बन्ने पालो मात्र कुर्ने होइन,सरकारलाई सहयोग गर्ने हो :अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको बताएका छन्।
अझ राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्ने उनको धारणा छ।
जनकपुरधाममा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने,पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ, उहाँले केही राम्रा काम पनि गर्न खोज्नु भएको छ। तर त्यो पर्याप्त भएन।
त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ। उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ।
सत्ता गठबन्धनको तर्फबाट वर्तमान सरकारलाई सहयोगी भूमिका खेल्न तयार रहेको नेता नेपालले बताए।
अहिले जुन सरकार छ त्यही सरकारलाई अगाडि बढाउने बताउँदै उनले भने, ‘को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन। कहिले मौका आउँछ भनेर ढुकेर बस्ने होइन।
एकीकृत समाजवादी मात्र नभइ नेपाली कांग्रेस पनि यही सरकारलाई अघि बढाउने पक्षमा रहेको उनको भनाइ छ।
‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा जी उहाँहरु यही सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ।
हामी पनि यही सरकारलाई अघि बढाउने पक्षमा छौं,’ नेता नेपालले भने, ‘हामी कसैले पनि यो सरकारलाई कमजोर बनाउन चाहँदैनौं।
यो सरकारको खुट्टा तान्न चाहँदैनौं। यो सरकारलाई हामी असहयोग गर्न चाहँदैनौं।