नेपाल प्रहरीका क्रिकेट खेलाडी सम्मानित
काठमाडौं। चीनमा भइरहेको एसियाली खेलको क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले आफ्ना ५ जना क्रिकेट खेलाडीलाई सम्मान गरेको छ।
नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच खेलाडीलाई सम्मान गरेका हुन्।
सम्मानित हुने खेलाडीहरूमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा छन्।
उनीहरुलाई सम्मान गर्दै कुँवरले अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको अस्तित्व र प्रतिष्ठा उँचो भएको बताए।
प्रहरीले यसअघि प्रहरी जवान रहेका ऐरीलाई प्रहरी सहायक हवल्दारमा बढुवा पनि गरेको छ।