माथिल्लो मुगुमा छैन सञ्चार सेवा
काठमाडौं। मुगु जिल्लाका धेरै जसो गाउँमा मोबाइल नेटवर्कले प्रभावकारी सेवा दिन सकेको छैन। सरकारले देशभर टेलिफोन सेवा पुगेको दाबी गरिरहे पनि दुर्गम जिल्लामा फोन सेवा प्रभावकारी नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन्।
मुगु जिल्लाको मुगमकामरिङ गाउँपालिकासँग जोडिएका विभिन्न भल्लीका बासिन्दा सम्बार सेवाबाट बञ्चित छन्। मोबाइलमा नेटवर्क खोजी गर्दै अग्लो स्थान र अग्ला रुख चढेर फोन सम्पर्क गर्दै आएका छन्।
छिमेकी मुलुक चीनको सिमानामा पर्ने मुगमकार्मारोङ गाउँपालिका छाइल, पापु, निमाथ, पुबा पुलु, लाखा, खारी, कार्ती, किसी दोल्पु, निलगायतका बस्तीमा नेपाल टेलिकमको टावरले राम्रोसँग सेवा दिन सकेको छैन।
निमाथ गाउँका स्थानीय राजेन्द्र बुढाकाअनुसार नेपाल टेलिकमले मुगमकार्मारोङ गाउँपालिकामा गुणस्तरीय टावर बनाउन नसक्दा स्थानीयले टेलिफोन सम्पर्क राख्न सकेका छैनन्।
स्थानीय टुन्डुल लामाले मुगमकार्मारोङ गाउँपालिकाका जनप्रतिनिधिले पहल लिन नसक्दा नागरिकले संचार सेवाबाट बञ्चित हुनुपरेको बताए।
नेपाल टेलिकमको गुणस्तरीय नेटवर्क नहुँदा सरकारी सेवा प्रबाह र पर्यटकलाई समेत असुविधा भएको छ। माङ्ग्री मोटे लेक र किसीको पर्लोकमा फोरजी टावर निर्माण सम्झौता भएको दसौं वर्ष भएपनि कामको सुरुवात हुन सकेको छैन।
मुगमकार्मरिङका नागरिक इन्टरनेट सेवाबाट पनि बञ्चित हुनु परेको स्थानीय टुन्डुल लामाले बताए। उनले राज्यले प्रविधिमैत्री प्रशासनका बारेमा भन्ने गरेपनि माथिल्लो मुगुका जनताले त्यसको अनुभूति गर्न नसकेको बताए।
नेपाल टेलिकम दूरसञ्चार शाखा कार्यालय मुगुका कार्यालय प्रमुख प्रेमराज आचार्यले मुगमकार्मरोङ गाउँपालिकामा स्याटेलाइट प्रविधिको टावरले निश्चित ठाउँभन्दा बाहिर काम नगर्दा समस्या आएको बताए। गोरखापत्रबाट