नेपालीहरु व्यक्तिगत स्वार्थमै रमाउने: सार्वजनिक काममा कसले ध्यान दिने?

दशैं दैलोमा छ,सबैलाई आफ्नो घर सफा गर्न भ्याइनभ्याइ छ। घरमा रंगरोगन गर्ने, कम्पाण्ड सफा गर्ने काम धमाधम भइरहेको छ। गेट भित्रसम्म सफा गरिरहँदा बाहिरको अवस्था भने उही नै छ।

आफ्नो गेटबाहिरको सडकसम्म पनि सफा गर्दैनन्। आखिरी हिँड्ने त उनीहरु पनि हुन्। बाटोघाटो, आकाशे पुल, मठमन्दिर, सार्वजनिक स्थलको हाल बेहाल छ।

ऐतिहासिक धरोहरहरु चकिँदै, भत्किँदै गएका छन्। तर, त्यसको मर्मत सम्भार, सरसफाइमा कसैको ध्यान जान सकेको छैन्। सडक निकै फोहोर छन्। आकाशे पुलको अवस्था पनि उही छ।

सार्वजनिक स्थल सबैका लागि हो। यद्यपि, कसैले त्यसको सरसफाइ, संरक्षणमा चासो दिएका छैनन्। हामी नेपाली आफ्नो घर चिटिक्क बनाउँछौं, फोहोर ल्याएर सडकमा फ्याक्ँछौं।

सफा गर्न दायित्व सरकारको मात्र होइन्। स्थानीय बासिन्दाले आफ्नो घरअगाडिको सडक आफैंले सफा गर्नुपर्छ। स–साना कामका लागि पनि सरकारको मुख ताक्नुपर्छ भन्ने छैन्।

छरछिमेक मिलेर घरअगाडिको बाटोघाटो सफा गर्ने हो भने त्यहाँ फोहोर नै थुप्रिँदैन्। बत्ती हाल्ने, रंगरोगन गर्ने काम त स्थानीय आफैंले पनि गर्न सक्छन्। यति जाबो कामका लागि सरकार नै चाहिन्छ भन्ने छैन्।

काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्ला, टोलको नामाकरण गर्ने, गेट राख्ने अनि टोल सुधार समिति गठन गरेर पैसा खाने। बाठाहरुले टोल सुधारको नाममा घरधनीबाट पैसा उठाउने, सरकारबाट बजेट लिने अनि झ्यापझुप बनाउने।

यहाँ नेता, सरकारी कर्मचारीदेखि लिएर सर्वसाधारणलाई नाटक गर्न कसैले भ्याउँदैन्। नाटक गर्नमा यिनीहरुले कलाकारलाई जितिदिन्छन्।

यसको गतिलो उदाहरण बागमती सरसफाइ अभियान बन्न सक्छ। २०७० सालमा मुख्यसचिव लिलामणि पोखरेलमा बागमती सरसफाइ अभियान चलाए। जनताले तिरेको अर्बौं रुपैयाँ अभियानको नाममा सकियो।

विभिन्न विदेशी संघसंगठनले सहयोग गरे। बागमती सफाइका लागि व्यक्तिहरुले पनि सहयोग गरे । तर, खोइ त उपलब्धि ? अभियान चलाएको त एक दशक बितिसकेको छ।

यद्यपि, अवस्था भने उही नै छ। हरेक साताको शनिबार सरकारी कर्मचारी, सर्वसाधारण सरसफाइको नाममा बागमती किनारमा पुग्थें। त्यहाँ गएर फोटो खिचाउने अनि पैसा पचाउने काम मात्रै भयो।

बाठाटाठाहरुले त्यहाँ ठूलो रकम भ्रष्टाचार गरेका छन्। डोको, पञ्जा, ज्याकेट, टोपी, जुत्ता, साभेललगायतका सामान किन्दा धेरै भ्रष्टाचार भयो। सय रुपैयाँको सामानलाई तीन सय रुपैयाँ बनाए।

सय वटा सामान किनेर बिलचाँहि तीन सय वटाको बनाइयो। अहिले टोलटोलमा गेट राख्दा पनि भ्रष्टाचार भएको छ। उपभोक्ता समितिले चार गुणा बढी रकम राखेर भ्रष्टाचार गरिरहेका छन्।

झन् यो टोल सुधार समितिमा त यति भ्रष्टाचार हुन्छ, के भन्ने ? खानेपानीमा पनि भ्रष्टाचार, ढलमा पनि। बाटोघाटो निर्माणमा पनि भ्रष्टाचार हुँदै आएको छ।

समितिमा बसेकाहरुले उपभोक्ता समितिका नाममा आफ्नो मान्छे छिराएर भ्रष्टाचार गरिरहेका छन्। पछिल्लो समय यी कार्य झनै बढिरहेको छ। जताततै भ्रष्टाचार मात्रै छ।

शहर सुन्दर बनाउनका लागि यतिका निकाय छन्। मन्त्रालय, विभाग, स्थानीय तह, समितिलगायत कैयौं निकाय सञ्चालनमा छन्। तर, जुनसुकै निकाय भएपनि कसैले काम गरेका होइनन्।

शहर कुरुप बन्दै गएको छ। वास्तवमा भन्ने हो भने शहर कस्तो हुन्छ ? भन्ने नै कसैलाई थाहा छैन्। व्यवस्थित शहर बनाउने भनेर सरकारले पटकपटक घोषणा गरिसकेको छ। तर, प्रगति भने केही छैन्।

सडकभरि फोहोरको डंगुर छ। हरेक पाइलामा फोहोर भेटिन्छ । सडकमा हिँड्नसमेत महामुश्किल छ। सरकारले ठाउँठाउँमा डस्टबिनको व्यवस्थापनसमेत गर्न सकेको छैन्।

स्थानीय तहहरुले डस्टबिन राख्ने नाममा बजेट झ्वाम्म पार्दै आएका छन्। डस्टबिन नहुँदा सर्वसाधारणले कागज, खानेकुराको प्याकेटहरु सडकमा फ्याँकिदिन्छन्।

सडकभरि खानेकुराको प्याकेट यत्रतत्र छरिएका हुन्छन्। तर, सफा कसले गर्ने ? सरकारको ध्यान सबैतिर पुग्न सक्दैन्। सबैतिर सरकारले सफा गर्ने सम्भव पनि छैन्। तर, ठाउँठाउँमा डस्टबिन राखिदिन त सकिन्छ नि ?

अहिले सार्वजनिक काम गर्न कोही रुचाउँदैनन् । कसैले मठमन्दिर बनाउन, पार्टीपौबा निर्माण गर्न, बाटोघाटो सफा गर्न चाहँदैनन्। जबकी त्यो सबैको दायित्व हो। बरु, अरुले बल्लतल्ल सफा गरेको ठाउँमा फोहोर पारेर हिँडिदिन्छन्।

श्रमदान गर्ने चलनचल्ती हराएको छ। फुर्सद भयो कि फोन चलाएर बस्छन्, सार्वजनिक काममा कसले ध्यान दिने ? अहिले जति पनि ढुंगेधारा, ताल, पोखरी, आल, पार्टीपौवा छ त्यो सबै पहिले नै बनेका हुन्।

उनीहरुले श्रमदान गरेर बनाएका हुन्। अहिलेका पुस्ताले त भएकालाई पनि मासिरहेका छन्। नयाँ निर्माण गर्न नसकेपनि संरक्षण त गर्नुपर्छ। त्योपनि गर्न सकिएको अवस्था छैन्।

सरकारले पनि सार्वजनिक काम गर्नुपर्छ भनेर जनतालाई बुझाउन सकेन्। किताबमा लेखिएर के गर्नु, व्यवहारमा लागु हुनु कल्पना गर्नु मात्रै हो। सरकारले अर्बौं रुपैयाँ खर्च गरेर ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याएको छ।

यो कार्यक्रमको खाँचो के ? राज्यको ढुकुटी सिद्धयाउनका लागि मात्रै कार्यक्रम ल्याएको स्पष्ट छ । सार्वजनिक काम गर्नका लागि किन अर्बौं खर्च गर्नुपर्यो ? टोलबासीले मिलेर काम गरेपनि त्यहाँ खर्च नै हुँदैन्।

बेकारमा राज्यकोषमाथि आर्थिक भार थप्ने काम मात्रै हुँदै आइरहेको छ। ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत कति वास्तविक बेरोजगारले जागिर पाए त ?

सरकारसँग तथ्याङ्क छ ? राजनीतिक दलका नेताहरुले आफ्नो कार्यकर्ता पोस्न यो कार्यक्रम ल्याएका हुन्भन्दा केही फरक पर्दैन्। बिहान आउने, हाजिर गर्ने अनि घरतिर दौडिने।

सरकारले यो कार्यक्रम चलाएको वर्षौं बितिसकेको छ। अर्बौं रुपैयाँ सकिसक्यो। तर, खोइ त प्रगति ? राजनीतिक दल को हुन् ? जनप्रतिनिधि को हुन् ? उनीहरु जनताको सेवा गर्न आएका कि जागिर खान ? अब यसको जवाफ खोताल्न आवश्यक देखिएको छ।

जनप्रतिनिधिका स्थानीयका अभिभावक हुन्। जनप्रतिनिधि भएपनि जनताको सेवा गर्नु उनीहरुको दायित्व हो। यसबापत पनि तलबभत्ता, सरकारी सेवासुविधा लिन्छन्।

त्यसो त जागिर खान गए, भइहाल्यो नि। किन जनप्रतिनिधि भनेर नाटक देखाइरहनुपर्यो ? जनताको नाम लिएर आफु मोटाउने कार्यले प्राथमिकता पाएको छ। काम केही नगर्ने, तलबभत्ता मात्रै खाने।

वडाध्यक्ष, मेयर, सांसद, मन्त्री, प्रधानमन्त्री,राष्ट्रपति सबैले तलब खान्छन्। लोकसेवाको परीक्षा पास नगरिकन जागिर खान पाएका छन्, अरु के चाहियो ? नेपालमा सबैभन्दा धेरै हिन्दू धर्मावलम्बी छन्।

नेपालीहरु भगवानप्रति आस्था राख्छन्। तर, मन्दिरको अवस्था निकै नै दयनीय छ। छानोबाट पानी चुहिन्छ। मन्दिरका भित्तामा झार उम्रिएको छ। भित्ताहरु चर्किएका छन्।

सरसफाइ छैन्। न शौचालयको व्यवस्था छ। मन्दिरको दानपेटिकामा उठेको पैसाचाँहि कहाँ जान्छ ? व्यक्तिगत स्वार्थ मात्र हेर्दा मुलुक कति पछाडि पर्दो रहेछ ? यो त छर्लङ्ग भइसकेको छ।

नेपालीहरु व्यक्तिगत कुरामै रमाएका छन्। दिनभर टिकटक बनाएर बस्नुको साटो सार्वजनिक काममा हात बटाए त शहर सुन्दर हुन्थ्यो नि। सार्वजनिक कामको नाममा डलरको खेती गर्ने कार्यले प्राथमिकता पाएको छ।

डोको बोकेको, साभेल समातेको देखाउने अनि फोटो खिचेर डलर ल्याउँदै खाने। स्कुल, कलेजमा पनि यही नौटंकी देखिन थालेको छ। समाजमा विकृति फैलिएको छ।

गत असार १५ गते धान रोप्ने कार्यक्रममा पुगेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाटक सबैले देखिहाल्यौं। हिलो लाग्छ भनेर ओली धान रोप्न पुगे। यस्ता नेताबाट जनताले के सिक्ने ? खेतमा छिरेपछि हिलो लाग्नु स्वाभाविकै कुरा हो।

नेताहरु नचाँहिदो काममा सुकिलोमुकिलो हुँदा आज देश यो अवस्थामा पुग्यो। भष्ट्राचारको छिटा शरीरभरि छ। क्षणिकको लागि सुकिलोमुकिलो बनेर के फाइदा ? नेपालीहरु आफू कमाउन र रमाउनमै व्यस्त छन्।

देशको बारेमा कसले सोच्ने ? नेताहरुलाई कसरी राज्यको ढुकुटी सर्वस्व बनाऔं भन्ने मात्र छ। जनताहरु पनि त्यस्तै छन्। अनि कसरी शहर सुन्दर हुन्छ ?