हाजिरी गराउन १४ हजार घुस लिने हेडमास्टरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । हाजिरी गराउन साढे १४ हजार रुपैयाँ घुस लिएकी एक प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको राजापुर नगरपालिका-७ स्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय, शंकरापुरकी प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदन आएपछि आयोगको कार्यालय बुटवल र सम्पर्क कार्यालय नेपालगञ्जबाट टोली खटाएको थियो।
सो टोलीले प्रधानाध्यापक उपाध्यायलाई सेवाग्राहीबाट १४ हजार ५०० रुपैयाँ घुसररिसवत बापतको रकम लिइसकेको अवस्थामा गत भदौ २६ गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा उपाध्यायले सेवाग्राहीलाई जागिरमा बहाल गराउनको लागि घुसररिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि हुन आएको आयोगले जानकारी दिएको छ।
उपाध्यायविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १४ हजार ५०० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज (आइतबार) विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।