दसैं-तिहारमा ५० हजार ५३० प्रहरी परिचालन गरिने

काठमाडौं। दसैं र तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले तयार गरेको एकीकृत सुरक्षा योजनाअन्तर्गत ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० कुबेर कडायतले चाडवाड लक्षित सुरक्षा योजनाअन्तर्गत विशेष सुरक्षा व्यवस्था गरेको जानकारी दिए । उनका अनुसार उपत्यकामा १४, कोशी प्रदेशमा ४५, मधेस प्रदेशमा ३७, वागमतीमा ४५, गण्डकीमा २१, लुम्बिनीमा ५०, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ३५ वटा नागरिक सहायता कक्ष सञ्चालन हुनेछन् ।

प्रहरीले ३ सय ५७ वटा सिभिल चेकपोस्ट, ५० क्षेत्रमा सीमा सुरक्षा चेकपोस्ट, ग्रामीण क्षेत्रमा १५ सुरक्षा चेकपोस्ट खडा गर्ने भएको छ । प्रहरी प्रवक्ता कडायतले अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्र वर्गीकरण गरी प्रहरी परिचालन गरिने जानकारी दिए । उनले भने, ‘उपत्यकाको सुरक्षाको लागि आवश्यकताका आधारमा सुरक्षा अवस्था निगरानी गर्न ड्रोन प्रयोग गर्नेछौं ।

विशेषगरी सुख्खा पहिरो खस्ने पृथ्वी राजमार्ग खण्डको मुग्लिङ–नारायणगढ खण्डमा २४ सै घण्टा सुरक्षाकर्मीसहित सडक विभागसँग समन्वय गरी आवश्यकताअनुसार स्काभेटर, डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको प्रहरीको भनाइ छ ।

चाडवाडमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताका आधारमा प्रहरी परिचालन गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ भने राजधानीबाट टिकट लिने यात्रुका लागि प्रहरीले विभिन्न स्थानमा करिब दुई दर्जन प्रहरी सहायता कक्ष स्थापना गरी त्यहाँबाट सेवा दिन शुरू गरेको छ ।

प्रहरीले टिकटमा कालो बजारी गर्ने, दोस्रो व्यक्तिले टिकट बिक्री गरेर यात्रु ठग्नेलगायतका कामलाई निरुत्साहित गर्न बसपार्क र अन्य स्थानमा विशेष गस्ती शुरू गरेको जनाएको छ। नेपाल समाचारपत्र दैनिकबाट