पूर्वलडाकुले पार्टीको नाममा सामूहिक आत्मदाह गर्ने चेतावनी,एक सातादेखि भेट्न खोजे पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले भेट्न मानेनन्
काठमाडौं। माओवादीका पूर्वलडाकुले राखेका माग पुरा नभए पार्टीको नाममा सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन्। माओवादी सशस्त्र विद्रोहका सर्वोच्च कमाण्डर समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पूर्वलडाकु एक सातादेखि सिंहदरबार धाइरहेका छन्। तर, मंगलबारसम्म उनीहरूले भेट्न अवसर जुरेको छैन।
प्रचण्डकै निर्देशनमा तत्कालीन राज्यसत्ताविरूद्ध भएको सशस्त्र प्रतिरोधमा सयौँ घाइते तथा अपाङ्ग भएका थिए। तिनैमध्येका पश्चिम रुकुमकी ‘साकार’अर्थात् प्रेक्षा उखेरा,सुर्खेतका चेतन सिग्देल र अछामका धिरेन्द्र भण्डारी बिहान बबरमहल पारी पिपलको रूखमुनि प्रतीक्षालयमा बसेर सुस्ताइरहेका थिए।
सात बुँदे मागपत्र झोलामा राखेर उनीहरू प्रधानमन्त्री तथा मन्त्रीका कार्यालयमा धाउन थालेको एक हप्ता भइसकेको रहेछ। तर, विभागीय मन्त्री, मन्त्रालयका सचिवबाट आश्वासन बाहेक केही नभएको जनयुद्ध तथा जनआन्दोलनका घाइते तथा अपाङ्ग संघर्ष समितिका प्रवक्तासमेत रहेका धिरेन्द्र भण्डारीले गुनासो पोखे।
पछिल्लो जानकारी लिन गृहमन्त्रालय जान लागेका उनीहरू आफ्नो माग पुरा नभएसम्म सडक संघर्ष जारी राख्ने बताएका छन्।
१० वर्षे युद्धका क्रममा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पार्टीको रणनीति अन्तर्गत २०६२ सालमा भएको तानसेन आक्रमणमा भण्डारी गम्भीर घाइते भएका रहेछन्।
२०५६ सालमा अछाम जिल्लाको अखिल क्रान्तिकारीका संस्थापक सदस्य रहेका उनी २०५७ सालमा माओवादी जनमुक्ति सेनामा प्रवेश गरेका थिए।
लड्न निर्देशन दिने सुविधा सम्पन्न महलमा रहेका लड्ने जिउमा गोली बोकेर सडकमा संघर्ष गरिरहनु परेकोमा उनले यसरी आक्रोश पोखे, ‘जनयुद्ध लड्नेहरू रोडमा छन्, लडाउने अहिले महलमा छन्।
लड्नेहरू शरीरभरि फलामका पुराना गोली बोकी सडकमा भौँतारिनु पर्ने,आदेश दिनेहरू सुविधासम्पन्न महलमा बसी चिल्ला गाडीमा हिँड्ने।
आफूहरूले उठाएको माग पुरा नभए सम्पूर्ण घाइते तथा अपाङ्गहरूले सिंहदरबार अगाडि पार्टीको नाममा सामूहिक आत्मदाह गर्ने उनले चेतावनी दिएका छन्। हामीले संघर्ष समितिको तर्फबाट ७ बुँदे माग गृहमन्त्रालयमा बुझाइसकेका छौँ।
यस बारेमा गृहमन्त्रीलाई समेत अवगत गराइसकेका छौँ। यदि हाम्रो माग सुनुवाइ नभए पार्टीको नाममा संघर्षमा उत्रिएका सबैले सामूहिक आत्मदाह गर्छौँ उनले भने।