यस्तो छ आज को मौसम पूर्वानुमान

काठमाडौं। हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

साथै कोशी र मधेश प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रही कोशी, मधेश, बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।