सशस्त्र प्रहरीले गर्यो यी दुई अधिकृतको विशेष बढुवा
काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले जिम्मेवारी बहन गर्नेक्रममा शारिरीक रूपमा अंगभंग भएर अशक्त भएका दुई कर्मचारीको विशेष बढुवा सिफारिस भएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक अरूण ढुंगानालाई प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित (शर्मा)लाई प्रहरी नायब उपरीक्षक पदमा बढुवा सिफारिस गरेको हो।
जिम्मेवारी बहन गर्नेक्रममा शारीरिक रूपमा अंगभंग गरेका कर्मचारीहरूको वृत्ति विकासलाई मध्यनगर गरी एक तह बढुवा दिने व्यवस्था गरिएको हो।
ढुंगाना र शर्मा द्वन्द्वकालमा विद्युतीय धरापमा परी गम्भीर घाइते भई अंगभंग भएका अधिकृत हुन्। बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरू सशस्त्र प्ररी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग अन्तर्गत रहने छन्।
एक पटकको लागि मात्र एक तह पदोन्नती दिई जुनसुकै कारण सो पद रिक्त भएमा स्वतः तल्लो पदमा कायम हुने गरी विशेष पद र दरबन्दी सिर्जना गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।
सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भएपश्चात सो व्यवस्था लागू भएको हो।
साथै अन्य सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन अन्तर्गत क्रमशः सम्बोधन गरिँदै लैजाने योजना रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।