यस्ता छन् सुदूरपश्चिम प्रदेशमा पर्यटनको सम्भावना र चुनौती
काठमाडौं। नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनको सम्भावना तथा चुनौतीहरु विशेष अध्यन प्रतिवेदन सार्वजनिक गरेको छ।
सुदूरपश्चिम प्रदेशमा पहिचान भएका धार्मिकस्थलहरु मध्ये छनोटमा परेका ९ वटा धार्मिकस्थलमा हुने धार्मिक पर्यटकीय गतिविधिलाई समावेश गरिएको छ।
उक्त अध्ययन अनुसार धार्मिकस्थलहरुको अवलोकनको क्रममा खप्तड क्षेत्र बाहेक अन्य स्थलहरुमा सडक सञ्जाल तथा यातायातका पूर्वाधार रहेको देखिन्छ।
धार्मिकस्थलको भ्रमण गर्ने ४६.६७ प्रतिशत आन्तरिक पर्यटकको मुख्य पेशा नोकरी तथा २१.११ प्रतिशत पर्यटकको मुख्य पेशा व्यापार रहेको पाइएको छ।
सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरुमध्ये ५४.४४ प्रतिशतले परिवारका सदस्य सहित धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ भने परिवारका सदस्यबाहेक अन्य समूहगत रुपमा भ्रमण गर्ने पर्यटक २२.२२ प्रतिशत रहेको पाइएको छ।
धार्मिक स्थलको भ्रमण गर्ने २६ देखि ३५ वर्ष उमेर समूहका आन्तरिक पर्यटकहरुको संख्या सबैभन्दा बढी ३६.६७ प्रतिशत रहेको छ भने ५६ देखि ६५/६६ देखि ७६ वर्ष भन्दा बढी उमेर समूहका पर्यटकको संख्या सबैभन्दा कम ४.४४ प्रतिशत रहेको छ।
सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरुको औसत भ्रमण अवधि २.६ दिन रहेको पाइएको छ। सर्वेक्षणमा सहभागी ६६.६७ प्रतिशत पर्यटकले आफ्नो मनोकाङ्क्षा प्राप्तिको लागि गरेको भाकल÷वाचा पुरा गर्ने उद्देश्यले धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ।
धार्मिकस्थल भ्रमण गर्दा सर्वेक्षणमा सहभागी प्रति पर्यटक औसत खर्च १६ हजार ५६७ रुपैयाँ भएको देखिएको छ।
सर्वेक्षणमा सहभागी भएका आन्तरिक पर्यटकहरुको कुल भ्रमण खर्चमध्ये यातायातमा सबैभन्दा बढी ४६ प्रतिशत खर्च भएको देखिएको छ भने होटलमा खान तथा बस्न र पूजा सामाग्री, उपहार खर्चका लागि क्रमशः २६ प्रतिशत, १६ प्रतिशत, ६ खर्च भएको देखिएको छ भने अन्य खर्च ६ प्रतिशत रहेको छ।
सर्वेक्षणमा सहभागी होटलहरुको मासिक औसत अकुपेन्सी ४० प्रतिशत रहेको छ। धार्मिकस्थल वरपर रहेका होटलले सेवा प्रदान गरे वापत प्राप्त गर्ने भुक्तानीको ३८.३० प्रतिशत भुक्तानी नगदमै, २७.६६ प्रतिशत भुक्तानी क्युआर कोडको माध्यमबाट हुने गरेको, १२.७७ प्रतिशत भुक्तानी ईन्टरनेट बैंकिङ्गबाट तथा बाँकी भुक्तानी कार्ड र डिजिटल खल्तीबाट हुने गरेको देखिएको छ।
सर्वेक्षणमा सहभागी होटलहरुमध्ये ४२ प्रतिशत होटलहरु केवल सुविधा विस्तार गर्ने र ३९ प्रतिशत होटलहरु क्षमता विस्तार गर्ने योजनामा रहेकोदेखिएको छ भने १५ प्रतिशत मात्र हालको अवस्थामा यथावत रुपमा होटल सञ्चालन गर्ने योजनामा रहेको देखिएको छ।
सर्वेक्षणमा सहभागी ४ प्रतिशत व्यवसायीको होटल व्यवसाय बन्द गर्ने योजना रहेको पाइएको छ।