एसीसी यू-१९ प्रिमियर कप: नेपालले इरानलाई दियो ३५४ रनको लक्ष्य
काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको हो।
नेपालका देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले। देव नेपालबाट यू-१९ मा दुई शतक हान्ने पहिलो खेलाडी हुन्। उनले गत फागुमा आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए।
दीपक बोहरा ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । नेपाल एक समय ४.१ ओभरमा १०९२ को अवस्थामा पुगेपनि तेस्रो विकेटका लागि देव र दीपकले १ सय ६६ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए। देव शतक प्रहार गरेको अर्को बलमा आउट भए।
उनी आउट भएपछि भने नेपालले लगातार विकेट गुमाएको थियो। ओपनर अर्जुन कुमाल गोल्डेन डक र आकाश त्रिपाठी ३ रनमै आउट भएका थिए । विकेटकिपर दीपक प्रसाद डुम्रे ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रनमा आउट भए।
दीपेश कंडेल २२ बलमा ३ चौका र१ छक्कासहित २९, दीपक बोहरा १ र मिलन बोहरा डक आउट भए । तीव्र गतिका बलर आकाश चन्द ११ बलमा ३ चौकासहित १९ रनमा आउट भए। हेमन्त धामी १९ बलमा २ चौका र १ छक्कासहित २३ र सुवास भण्डारी १८ रन बनाए।
इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए। सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए। समान शेखी र जियाद राइसीले समान दुई विकेट लिए।