सुदूरपश्चिमको राजधानीबारे निर्णय गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह
काठमाडौं। सुदूरपश्चिम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रदेशको राजधानीबारे निर्णय गर्न आग्रह गरिएको छ।
सोमबार गौरीगंगा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहमा संघीय सांसद वीरबहादुर बलायरले प्रधानमन्त्रीसंग यस्तो आग्रह गरेका हुन्। उनले प्रधानमन्त्री प्रचण्डलाई काठमाण्डौं फर्केर राजधानीका बारेमा निर्णय गर्न आग्रह गरे।
उनले अघिल्लो प्रदेश सभाले घोषणा गरेको राजधानी अहिले सम्म पनि बन्ने नबन्ने अत्तोपत्तो नभएको बताए।
कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित बलायरले सामुदायिक वनले वन रहित ८० विगाको भोगाधिकारको लागि पत्र प्रधानमन्त्री कार्यालयमा पुगेको जानकारी दिँदै उनले अहिलेसम्म सुदूरपश्चिम राजधानी विहिन भएको बताए। बलायरको आग्रहपछि बोलेका प्रधानमन्त्री प्रचण्डले भने यस विषयमा कुनै प्रतिक्रिया दिएनन्।