इजरायलमा मारिएका ४ जना विद्यार्थीको शव आज ल्याइँदै
काठमाडौं। दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये चार जनाको शव आज नेपाल ल्याइँदै छ।
कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल ल्याइन लागिएको तेलअभिभस्थित नेपाली राजदूतावासले बताएको छ।
उडान विवरण अनुसार शव कात्तिक ५ गते, आइतबार बिहान काठमाडौं पुग्नेछ। इजरायलमा हमास समूहको आक्रमण परी १० जना नेपालीको निधन भएको छ।
तीमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याइन लागिएको हो।
अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ। त्यस्तै सम्पर्कबिहीन रहेका विपीन जोशीको खोजी कार्यमा आफ्नो प्रयास केन्द्रित गरिरहेको पनि दूतावासले उल्लेख गरेको छ ।