कर्णालीमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने
काठमाडौं। २५ वर्षपछि कर्णालीको सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा साढे दुई दशकपछि कर्णालीमा राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो।
नेपाल भलिबल संघले शनिवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी पुस २० देखि २५ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्ने जनाएको छ।
वि.सं.२०५५ मा नेपालगञ्जमा चौथो राष्ट्रिय खेलकुद हुँदा भलिबलको प्रतियोगिता भने सुर्खेतमा खेलाइएको थियो। तर, त्यसपछि लामो समयसम्म भलिबलको प्रतियोगिता हुन सकेको थिएन।
भलिबलका राष्ट्रिय स्तरका प्रतियोगितालाई विकेन्द्रित गर्ने उद्देश्यअनुरूप कर्णालीमा संघले यो आयोजना गर्न लागेको हो।
सो प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।