नेपालले ओमानलाई दियो १८५ रनको विसाल लक्ष्य

काठमाडौं।आइसीसी टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनायो। नेपालका गुलशन झाले २५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५४ रन बनाए।

कप्तान रोहित पौडेल ३७ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे। करण केसी ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए।

एक समय सुरुवाती १० ओभरमा ६०–४ को अवस्थामा रहेको नेपाललाई पाँचौं विकेटका लागि गुलशन र रोहित पौडेलले ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नेपालले अन्तिम ७ ओभरमा १ सय १८ रन बनाएपछि ओमानलाई विशाल लक्ष्य दिएको हो।

गुलशनले २० बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए। रोहितले ३६ बलमा टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए।

बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख एक्स्ट्रा कभरमा कश्याप प्रजापतिबाट ६ रनमा क्याच आउट भए।
कुशल भुर्तेलले ब्यक्तिगत १८ रनमा जीवनदान पाएका थिए। तीव्र गतिका बलर फयाज बटको पाँचौं ओभरको अन्तिम बलमा कुशलको क्याच कभरमा आयन खानले छाड्न पुगेका थिए।

तर कुशलले त्यसलाई भरपूर्ण फाइदा उठाउन सकेनन् । अकिब इल्यासले टोलीको योजना अनुसार डीप स्क्वायर लेगमा कुशल भुर्तेललाई मेहरान खानबाट क्याच आउट गराएका थिए । कुशल भुर्तेल २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए ।

सन्दीप जोरा कप्तान जिशान मकसुदको बलमा १० रनमा बोल्ड आउट भए । अकिबले पुन टोलीको योजना अनुसार कुशल मल्ललाई आउट गरे । कुशलको कमजोरीलाई ध्यानमा राख्दै अफ बलमा अकिबले बोल्ड आउट गरेका थिए ।

कुशल मल्ल ३ रनमा बोल्ड आउट भए। एक समय नेपाल १० ओभरमा ६०–४ को अवस्थामा थियो । त्यसपछि गुलशन र रोहितको साझेदारीले खेलमा फर्किएको थियो।

बिलाल खानको बलमा गुलशन स्लिपमा सकिल अहमदबाट क्याच आउट भएका थिए । बिलालकै बलमा विवेक यादव एक रनमा कट एण्ड बोल्ड आउट भए।

ओमानका बिलाल खानले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। जिशान मकसुदले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए। सुरुवाती ३ ओभरमा ६ रन खर्चेका जिशानले अन्तिम ओभरमा २१ रन खर्चेका थिए। अकिब इल्यासले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । फयाज बटले ४ ओभरमा ६३ रन खर्चिदा विकेट लिन सकेनन्।