चितवनमा सहुलियत दरको सुपथ मूल्य पसलमा उपभोक्ताको भिड
-प्रेम प्रसाद कडेल
चितवन। नेपाल सरकारको निर्देशनमा चाडपर्वलाई मध्यनजर गरेर असोज २१ गतेबाट मंसिर ३ गतेसम्म सञ्चालन हुने सहुलियत दरको खुद्रा पसल नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवन जिल्लामा खुद्रा उपभोग्य वस्तुको सेवा दैनिक तिन सयदेखि पाँच सय सेवाग्राहीलाई प्रभावकारी ढंगले सेवा प्रदान गरिरहेको छ।
उक्त सहुलियत दरको खुद्रा पसलमा न्यूनतम चिनी ४ केजी र नुन ६ केजीका साथै अन्य खाद्य सामग्री आवश्यकता अनुसार उपलब्ध गराईएको छ।
नेपाली समाजको राष्ट्रिय पर्वको अवसरमा सञ्चालन हुने सहुलियत दरको खुद्रा पसलले आफूहरु लाभान्वित भएको उक्त साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वितरण डिपोमा उपभोग्य सामान लिन आउने स्थानीय क्षेत्रपुर सरिता गिरीले एक बताइन्।
हाल दैनिक लगभग १ लाख पाँच हजारको उपभोग्य वस्तुको विक्री वितरण भएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको चितवन कार्यालय प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए।
कार्यक्रम सञ्चालन हुने क्रममा शुरुमा असोज महिनामा चिनी उपलब्ध नहुँदा उपभोक्ता निराश भएका भए पनि कार्तिक बिस गतेबाट चिनीसहितको उपभोग्य सामान उपलब्ध गराईएकोमा आम उपभोक्ता सन्तुष्ट छन्।
कार्यक्रम सञ्चालनको शुरु अवधिदेखि हालसम्म छत्तीस लाख दश हजार आठ सय उनन्सत्तरी रूपैयाँ बराबरको कारोबार भएको कार्यालय प्रमुख दाहालले बताए। आगामी दिनहरुमा पनि सरकारबाट निरन्तर रुपमा यस्ता सहुलियत दरको खुद्रा पसल सञ्चालनमा ल्याउनुपर्ने आम उपभोक्ताको भनाइ रहेको छ।