नेपाल टेलिकमले तीन महिनामै गुमायो ३९ करोड बढी आम्दानी
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको आम्दानी र नाफा दुवै घटेको छ। चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार टेलिकमले कूल आय र खुद मुनाफा दुवै गुमाएको हो।
कम्पनीले यो आर्थिक वर्षको सुरुवाती तीन महिना (साउन, भदौ र असोज) मा १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ आय गरेको छ, जुन गत आव २०७९/८० को सोही अवधिको तुलनामा ३.५४ प्रतिशतले कम हो।
अघिल्लो आवको सुरुवाती तीन महिनामा टेलिकमको कूल आय ११ अर्ब चार करोड ९० हजार रुपैयाँ रहेको थियो। यसरी तीन महिनामै कम्पनीको कूल आय ३९ करोड १२ लाख ९७ हजार रुपैयाँले घटेको छ ।
टेलिकमले चालू आवको प्रथम त्रैमासिक अवधिसम्मको कूल सञ्चालन आयमा पनि निराशाजनक प्रदर्शन गरेको छ। यो अवधिमा कम्पनीको सञ्चालन आय आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ मात्रै रहेको छ।
यो रकम गत आवको सोही अवधिको कूल सञ्चालन आयको तुलनामा ५.४३ प्रतिशतले कम हो। गत वर्षको पहिलो त्रैमासिक अवधिसम्म कम्पनीको कूल आय नौ अर्ब सात करोड ७५ लाख ८४ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै चालू आवको प्रथम त्रैमासिक अवधिसम्म कम्पनीले दुई अर्ब दुई करोड ७४ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । उक्त रकम गत आवको सोही अवधिको खुद मुनाफा दुई अर्ब २२ करोड ५५ लाख ६ हजारको तुलनामा रु। १९ करोड ८० लाख ७४ हजार (अर्थात् ८.९० प्रतिशत) ले कमी हो।
गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा चालू आवको सोही अवधिमा राजस्व तथा खुद मुनाफामा परिवर्तन हुनुमा टेलिकमले निम्न कारण औंल्याएको छः
-ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा करिब रु। ४९ करोड १४ लाख ८५ हजारले कमी भएको ।
-आर्थिक मन्दीका कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रुपमा कमी आएको।
-विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु। पाँच करोड ९९ लाखमात्रै फरेन एक्सचेन्ज गेन भएको।
-प्रतिकूल मौसमका कारण विद्युत आपूर्ति तथा मर्मतसम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेको।
-विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको।
-राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको।
-सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएका कारण सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकूल असर परेको।
-बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु। १४ करोड ८१ लाखले कमी भएको।