नेपाली श्रमिक लगेर काम नदिने साउदी कम्पनी कालोसूचीमा,दैलेख म्यानपावर निलम्बित
काठमाडौं। नेपाली कामदार लगेर काम नदिई राख्ने साउदी अरेबियाको एक कम्पनीलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ।
वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालका अनुसार ‘अब्दुल्ला बिन इशा बिन हमद अल अविदान जनरल कन्ट्राक्टिङ इस्ट कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो।
सो कम्पनीले नेपालबाट श्रम नियम पूरा गरी २०÷२५ जना नेपाली कामदार लगेको तर तलव सुविधा नदिई लामो समयसम्म एउटै कोठामा राखेको पाइएको थियो।
यी कामदारलाई साउदी अरेयिबा पठाउने म्यानपावर कम्पनी दैलेख ओभरसिज प्रालिको इजाजत समेत निलम्बनमा राखेको निर्देशक भुसालले जानकारी दिए।
उनका अनुसार सो म्यानपावरबाट साउदी गएका कामदारले २ महिनादेखि अहिलेसम्म काम, तलव र अन्य सेवा सुविधा नपाएको भन्दै नेपाल फिर्ता गराउन माग गरेका थिए।
त्यसपछि विभागका महानिर्देशक र साउदी अरेबियास्थित नेपाली दूतावासका कर्मचारीले स्थलगत अनुगमन गरेका थिए। सो क्रममा कामदारलाई एउटै कोठामा राखेको, काम नदिएको, खान बस्न र तलव सुविधा नदिएको र केही कामदार बिरामी परेको समेत पाइएको थियो।
त्यसपछि विभागले उक्त कम्पनी सञ्चालकलाई अबिलम्ब समस्या समाधान गर्न निर्देशन दिँदै कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।