काठमाडौं महानगरले २७ डाक्टर र ५ खाद्य विज्ञको आवेदन माग
काठमाडौं। काठमाडौं महानगरपालिकाले २७ जना मेडिकल अधिकृत र ५ जना खाद्यविज्ञका लागि आवेदन खुला गरेको छ।
शनिबार महानगरपालिकाले एक सूचना जारी गर्दै आठौं तहको मेडिकल अधिकृतको लागि एमबीबीएस उतीर्ण गरेका जनशक्ति माग गरेको हो। महानगरका अनुसार शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुका लागि करारमा डाक्टर माग गरिएको हो।
यस्तै महानगरले सञ्चालन गर्न लागेको ल्याबको लागि खाद्य विज्ञ माग गरेको छ। महानगरपालिकाले सातौं तहको माइक्रोबाइलोजिस्ट २ जना, फुड टेक्नोलोजिस्ट ३ जना मागेको हो।
महानगरका कृषि तथा पशुपन्छी विभागका प्रमुख डा.अवधेश झाका अनुसार खाद्य सम्बन्धी गुणस्तर मापन गर्न महानगरपालिकाले आफ्नै कर्मचारी राख्न लागेको हो।
काठमाडौं महानगरको १२ भदौ २०७९ को कार्यपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने निर्णय गरेको थियो।
बैठकमा मेयर बालेन शाहले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका ५ जना फुड इन्सपेक्टर राख्ने प्रस्ताव गरेका थिए, जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको थियो। तर स्नातकोत्तर योग्यता राख्दा प्रतिस्पर्धा गर्ने जनशक्ति कम हुने देखिएपछि स्नातक योग्यता तोकेर सूचना निकालिएको झाले बताए।
महानगरले खाद्य निरीक्षकहरु राखेपछि मासु र खाद्य पदार्थको पसल नियमित अनुगमन गर्ने भनिएको छ।