जाडो छल्न नेपाल आइपुगे चरा

बेलबारी । जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो।

सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ।

कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए।

गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको उनले बताए।

विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ।