विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया आज भिड्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ।
फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ।
भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको हो।
यस्तै अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको थियो।
फाइनल पुग्ने क्रममा अपराजित भारतले १० मध्ये १० वटै खेल जितेको थियो । यस्तै लिग चरणमा सुरुवाती दुई खेलमा पराजित अष्ट्रेलियाले त्यसपछि लगातार ७ खेल जितेर सेमिफाइनलमा पुगेको थियो ।
लिगमा तेस्रो भएको अष्ट्रेलियाले दोस्रो भएको दक्षिण अफ्रिकालाई पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो ।
विश्वकप क्रिकेटको सर्वाधिक सफल अष्ट्रेलियाले कीर्तिमानी पाँच पटक उपाधि जितेको छ भने भारतले दुई पटक उपाधि जितेको छ ।
यसअघि सन् २००३ मा यी दुई टोली फाइनलमा भिड्दा अष्ट्रेलियाले जित हात पारेको थियो । त्यसबेला अष्ट्रेलिया अपराजित रहँदै फाइनल पुगेको थियो ।
यस पटक त्यसको ठीक विपरीत भारत अपराजित रहँदै फाइनल पुगेको छ । भारतलाई घरेलु मैदानमा त्यस हारको बदला लिने मौका समेत छ ।
तर अष्ट्रेलियाको लागि पनि फाइनलमा भारतविरुद्ध लिग चरणमा बेहोरेको हारको बदला लिने अवसर छ । भारतले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै सबै खेल जितेको थियो । तर अष्ट्रेलियाले खराब सुरुवात गरेपनि त्यसपछिका खेलमा आफ्नो वास्तविक खेल प्रदर्शन गर्दै फाइनलसम्म पुगेको छ । त्यसैले फाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमान छ ।
अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ / २०१५ मा उपाधि जितेको थियो भने भारतले १९८३ /२०११ मा उपाधि जितेको थियो ।
यसअघि ७ पटक फाइनल खेलिसकेको अष्ट्रेलिया १९७५ मा वेष्ट इन्डिज र १९९६ मा श्रीलंकासँग भने फाइनलमा पराजित भएको थियो । भारत भने फाइनलमा २००३ मा अष्ट्रेलियासँगै पराजित भएको थियो ।
भारत र अष्ट्रेलियाबीच अहिलेसम्म कुल १५० वटा एकदिवसीय खेल भएको छ । जसमा अष्ट्रेलियाले ८३ वटा खेल जितेको छ भने भारतले ५७ वटा जितेको छ । बाँकी १० खेलमा नतिजा आएको थिएन ।
यस्तै भारत र अष्ट्रेलियाबीच विश्वकपमा १३ खेल भएकोमा अष्ट्रेलियाले ८ खेल जित्दा भारतले ५ खेल मात्र जितेको छ।