उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छट पर्व सम्पन्न
जनकपुरधाम । निष्ठा र श्रद्धापूर्वक मनाइने महापर्व छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ। खोला, नदी, तालतलैया, पोखरीमा व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजाको समापन गरेका छन्।
एकाबिहानै घरका कुनै एकजना सदस्यले घाटमा राखिएको पूजा सामग्रीहरूलाई दूधले चोख्याएपछि व्रतालुहरूले सो पूजा सामग्री दिनकर बाबा अर्थात् सूर्य भगवान्लाई अर्पण गरी छठ पर्व सम्पन्न भएको छ।
व्रत बसेका व्रतालुहरूले अर्घ्य दिएर जलासयबाट घाटमा फर्केपछि घरपरिवारका सदस्यहरूले आफू भन्दा श्रेष्ठबाट घाटमै लिएका छन् भने घरका छोरी बुहारीहरूले आफूभन्दा ज्येष्ठलाई टिका लगाएर पनि आशीर्वाद थपेका छन्। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले निष्ठा श्रद्धापूर्वक छठ पर्व मनाइन्छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन शुक्रबार व्रतालुहरूले नहाय खाय अर्थात् नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा छठ पर्व समापन हुन्छ।
तराई मधेस पहाड तथा भारतको बिहार राज्यमा भव्यताका साथ मनाइने यो पर्वमा व्रतालुहरू ३६ घण्टा लामो निराहार व्रत बस्छन्। यो पर्वलाई सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्वको रूपमा मानिन्छ।