यू-१९ विश्वकप क्रिकेट श्रीलंकाको सट्टा दक्षिण अफ्रिकामा हुने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले यू-१९ विश्वकप क्रिकेट श्रीलंकाको सट्टा दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ। बोर्ड बैठकले सर्वसम्मत रुपमा यो निर्णय गरेको आईसीसीले जनाएको छ।

श्रीलंकाको क्रिकेट बोर्डमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ। त्यसैले जनवरीमा श्रीलंकामा हुने भनिएको विश्वकप दक्षिण अफ्रिका सार्नु परेको हो।

यू-१९ विश्वकप क्रिकेटमा नेपाल पनि छनोट भएको छ। जनवरी १३ देखि फेब्रुअरी ४ सम्म हुने भनिएको प्रतियोगिता दक्षिण अफ्रिकामा त्यही मिति आसपासमा आयोजना हुने छ।

दक्षिण अफ्रिकाले यसअघि महिला यू-१९ विश्वकप २०२३ र पुरुष यू-१९ विश्वकप क्रिकेट २०२० आयोजना गरिसकेको छ।