गणतन्त्रविरुद्ध भ्रम छर्नेहरू सफल हुँदैनन्: प्रधानमन्त्री दाहाल
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन नसक्ने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित छैटौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र र समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाको बिरुद्ध केही कतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सृजना गर्ने, अराजकता सृष्टि गर्ने कोशिस भएको उल्लेख गर्दै त्यस्ता प्रयास अगाडि बढ्नै नसक्ने बताएका छन्। उनले इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्ने दाबी गर्दै पछाडि फर्कनै नसक्ने बताए।
‘हुनत मानिसहरुले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाको बिरुद्ध केहीँकतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सृजना गर्ने, अराजकता सृष्टि गर्ने कोशिस भएका छन्,उनले भने, ‘इतिहासको चक्कालाई पछाडितिर धकेल्ने कोशिसहरु देखिएकै छ । तर तथ्य के हो भने इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्छ।
पछाडि फर्कदैन। र, हामी जबसम्म यो परिवर्तनका बाहक राजनीतिक दलहरु, नेताहरु, संघ, संस्थाहरु, बुद्धिजीविहरु, नागरिकहरु, तपाईहामी सबै निजी क्षेत्र र सार्वजनिक क्षेत्रका व्यक्तित्वहरु रहन्छौं, इतिहास पछि फर्कंदैन, अगाडिनै बढछ।
त्यो विश्वास पनि म तपाईहरुलाई दिलाउन चाहन्छु। अहिले हामी नेपाललाई विश्व समुदायसामु हाम्रो हक अधिकार स्थापित गर्ने एउटा अभियानमा छौं।
प्रधानमन्त्री दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन र सफलतालाई सरकारले आफ्नो सफलताको रुपमा लिएको पनि बताए।
उनले राष्ट्र निर्माणका लागि दूरगामी र रचनात्मक प्रभाव पार्ने तथा भावी पुस्ताका लागि गर्विलो इतिहासको रुपमा सामाजिक सुरक्षा कोषलाई सरकारले लिएको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयनमा लाग्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुरुप सामाजिक सुरक्षालाई संघ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वको रुपमा लिँदै आफ्नो स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानूनी आधार तयार गरेका छौं।
त्यस ऐतिहासिक कार्यक्रमको घोषणा गर्ने जिम्मेवारी पनि प्रधानमन्त्रीको रुपमा मैले नै प्राप्त गरेको थिए। आज यस कार्यक्रममार्फत सबै स्थानीय तहलाई कार्यक्रम प्रभावकारी बनाउने कार्यमा सशक्त भूमिका खेल्न म विशेष आग्रह गर्न चाहन्छु।
सम्पूर्ण नेपाली नागरिकहरुको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा सामाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पु¥याउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कमी हुन नदिन समेत उनले आग्रह गरे।