दुबईमा महासचिव गुटेरेसले सम्झे नेपाल

काठमाडौं । दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२८) को उच्चस्तरीय राजनीतिक भेलामा राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले नेपालको नाम उल्लेख गरेपछि सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालले खुसी व्यक्त गरेका छन् ।

सम्मेलनअन्तर्गत शुक्रबार सुरु भएको दुईदिने वर्ल्ड क्लाइमेट एक्सन समिटको उद्घाटन सत्रमा महासचिव गुटेरेसले भने, ‘केही दिनअघि मात्र म अन्टार्टिकाको पग्लिरहेको हिउँमाथि थिएँ । धेरै अघि होइन, मैले नेपालका पग्लिरहेका हिमनदीलाई पनि साक्षात्कार गरेको थिएँ । यी दुई स्थान भूगोलका हिसाबले टाढा छन् तर समान संकटमा छन् ।

उद्घाटन सत्रमा महासचिव गुटेरेसले बोलिरहँदा सभास्थलमा अगाडि रहेका प्रधानमन्त्री दाहालले त्यसलगत्तै नेपाल पेभिलियनमा आफ्नो संक्षिप्त प्रतिक्रिया राख्ने क्रममा महासचिवको अभिव्यक्तिप्रति खुसी व्यक्त गरेका हुन् । ‘उद्घाटन मन्तव्यमा महासचिव गुटेरेसले नेपाल र अन्टार्कटिकाको चर्चा गरेका छन्, यो खुसीको कुरा हो,’ प्रधानमन्त्री दाहालले भने। आजको नागरिक दैनिकमा समाचार छ।