मुगु हत्याकाण्डः सुर्खेतमा फेला पर्यो श्रीदेवीको मोबाइल
काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दु गाउँमा भएको सामूहिक हत्याकाण्डमा प्रहरीले थप तथ्य फेला पारेको छ । हत्यामा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको करिब आधा महिनापछि मृतक श्रीदेवी बोहोराले प्रयोग गर्दै आएको मोबाइल पत्ता लागेको हो।
अनुसन्धानमा सक्रिय एक अधिकृतका अनुसार उक्त मोबाइल सोमबार बिहान सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–५, चिसापानीको एउटा बाँसको झाङमा फेला परेको हो।
पक्राउ परेका दुई मध्येका गोर्खबहादुर शाही ‘काले’लाई उपचारको क्रममा सुर्खेत ल्याइएको थियो। त्यही क्रममा सोधपुछ गर्दा मोबाइल फालेको स्थानबारे जानकारी दिएका थिए। सोही आधारमा त्यहाँ पुग्दा मोबाइल भेटिएको ती अनुसन्धान अधिकृतले बताए।
उनका अनुसार अहिले मोबाइलमा के कुराहरु भएको थियो भन्ने विषयमा ल्याबमा टेन्ट गर्ने लगायतका काम भइरहेको बताए।
कात्तिक ८ गते मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज बोहरा, ८ महिनाका अर्का छोरा रहर बोहरा र ८ वर्षीय छोरी अप्सरा बोहराको हत्या भएको थियो।
कात्तिक १० गते बिहानमात्रै चार जनाकै शव घरभित्रै भेटिएको थियो। प्रहरीले घटनामा संलग्न सोही नगरपालिकाको–७, पिना घर भई हाल बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही ‘काले’ र मन्दु गाउँकै ३१ वर्षीय गोपालबहादुर बोहोरालाई पक्राउ गरेको थियो ।
प्रहरीले शाहीलाई कार्तिक २० गते सुर्खेत, वीरेन्द्रनगरको पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो भने बोहोरालाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
धारिलो हतियारबाट टाउको र घाँटीमा प्रहार गरी हत्या गरिएको अवस्थामा श्रीदेवीसहित छोराछोरीको शव भेटिएको थियो।
हत्या भएको साँझ कतारमा रहेका श्रीमान् दीपक बोहोरासँग श्रीदेवीले भिडिओ कल गरिरहेकी थिइन्। तर, हत्याराले उक्त मोबाइलसमेत लगेका थिए भने त्यसपछि श्रीदेवीसहित छोराको तस्बिर दीपकलाई पठाएको पनि अनुसन्धानबाट खुलेको थियो । तर, मोबाइल भने पत्ता लागेको थिएन।
मोबाइल पत्ता लागेसँगै घटनाको अनुसन्धान अगाडि बढाउन थप सहज हुने प्रहरीको भनाइ छ । आफन्त पर्ने गोपालबहादुर बोहोराको डिजाइनमा उक्त हत्या भएको बताइएको छ। श्रीदेवीका श्रीमान् दीपकले कतारको भिसा नपठाइदिएको रिसमा सामूहिक हत्या भएको निष्कर्ष प्रहरीको छ।
यद्यपि उक्त घटना गोपालकी आमासँग पनि आएर जोडिएको ती अनुसन्धान अधिकृतको भनाइ छ। गोपालकी आमा र मृतक श्रीदेवीबिचको आपसी मनमुटावको कुराहरु भएको पनि अनुसन्धानबाट खुलेको छ।
गोपाल र गोर्खबिच श्रीदेवी बोहोरासँग भएको १०÷१२ तोला सुन र नगद रुपैयाँ लुटपाट गर्ने सल्लाह भएको थियो। सोही अनुसार लुटिएको सुन गोर्खबहादुरले बिक्री गरेको पसल पनि प्रहरीले पत्ता लगाएको छ।
ती अनुसन्धान अधिकृतका अनुसार नेपालगन्जको कुनै एक पसलमा सुन बिक्री गरिएको रहेछ। उक्त विषयमा पनि अहिले अनुसन्धान भइरहेको उनले बताए।
घटनाको अनुसन्धानमा प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मा लगायतको टोली सक्रिय छ।