मनु उपन्यासका डा.सुवेदीलाई कविडाँडा आख्यान पुरस्कार-२०७९ अर्पण समारोह सम्पन्न

चितवन। कविडाँडा साहित्य समाजको आयोजनामा कविडाँडा आख्यान पुरस्कार – २०७९ अर्पण समारोह चितवनको सौराहास्थित होटल जंगल सफारी लजमा सम्पन्न भएको छ। मनु उपन्यासका लेखक, समालोचक तथा उपन्यासकार डा. देवी प्रसाद सुवेदीलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

पुरस्कार प्रदान समारोहका अध्यक्ष कविडाँडा साहित्य समाजका अध्यक्ष एल बि क्षेत्री, प्रमुख अतिथि मनु उपन्यासका लेखक डा. देवी प्रसाद सुवेदी, अतिथि लाल मिना फाउन्डेसनको अध्यक्ष मिना लामिछाने, समालोचक सह प्राध्यापक महेश पौड्याल, डा. केशवराज चालिसे रहेका थिए।

उद्घाटन पानसमा बत्ती बालेर गरिएको कार्यक्रममा राष्ट्रिय गान प्रस्तुत र शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा गोविन्दराज विनोदीद्वारा रचित स्वागत गित सपना रैलाले सुमधुर स्वरमा गाएर हललाई रोमान्चित बनाइन।

कविडाँडा साहित्य समाजका उपाध्यक्ष उदय अधिकारीले मनु उपन्यासका बारेमा छोटो समालोचना राख्दै उपस्थित सबै सबैमा स्वागत मन्तव्य व्यक्त गरे। यो नेपाली समाजको वास्तविकता र वैदिक परम्पराको ऐतिहासिक महत्वको कडी भएको उनले बताएका थिए।

कविडाँडा साहित्य समाजका अध्यक्ष एल बि क्षेत्रीले अध्यक्षको प्रतिवेदन पेश गर्दै यो पुरस्कार समग्र चितवनको भएको र साहित्यको उन्नयन र विकासका लागि सबै सबै साहित्यप्रेमीहरुको उपस्थिति रहेको बताए।

तत्पश्चात कार्यक्रममा मनु उपन्यासका लेखक समालोचक उपन्यासकार डा देवी प्रसाद सुवेदीलाई दुबोको माला दोसल्ला र नगद साथै धर्मपत्नी कृष्ण सुवेदीलाई दोसल्ला ओढाएर सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो।

उक्त पुरस्कारको राशि एक लाख पच्चिस हजार रहेको छ। कार्यक्रममा बोल्दै आख्यान नोट प्रस्तुत गर्दै सह प्राध्यापक महेश पौड्यालले समाज रुपान्तरणको प्रक्रियामा छुटेको विषयवस्तु आख्यानले समेट्ने भएकोले यो विशेष महत्त्व बोकेको कृति रहेको बताए।

यसमा आर्य सभ्यताको विकाससँगै मनु दर्शनका कोणबाट समकालीन समाजको रुपान्तरणको गति एवम् विषय मुखरित भएको बताउदैं नितान्त व्यक्तिगत तवरका व्यक्तिपरक लेखन आख्यान नहुने प्रष्ट पारे। उनले युरोपको विकास, ग्रिस सभ्यता, रोमानियाली विरताको मिथक पनि पेश गरे।

माधवी उपन्यासपछि चार दशकको अन्तरमा मनु ऋग्वैदिक सामाजिक उपन्यास भएको बताए। यसको संश्लेषण पाठकको आँखामा हुने कुरा व्यक्त गर्दै पुरस्कृत उपन्यासकार डा देवी प्रसाद सुवेदीको उज्ववल भविष्यको शुभकामना व्यक्त गरे।

समालोचक डा. केशवराज चालिसेले यसमाथि समिक्षा गर्दै हजार पात्र भएको उपन्यासका लेखकले सुर र असुर प्रवृतिबिचको भिन्नताका साथै विभिन्न कालखण्डमा भएका विकासक्रमको निरन्तरतामा मनु दर्शनका कोणबाट लेखिएको यो उपन्यास उत्कृष्ट नमुना रहेको बताए।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै कवियत्री गायत्री श्रेष्ठ, गणेश लाठ , श्रीओम रोदन, हरिबोल काफ्ले, अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र केसी लगायतका साहित्यकारहरुले उपन्यासका लेखक डा देवी प्रसाद सुवेदीलाई बधाई तथा कार्यक्रमको शुभकामना व्यक्त गरे।

कार्यक्रममा गोविन्दराज विनोदी, सपना रैला, महेश पौड्याल, डा केशवराज चालिसेलाई संस्थाका अध्यक्ष एल बि क्षेत्रीले मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा अन्त्यमा बोल्दै कविडाँडा साहित्य समाजका सदस्य सुरेन्द्र अस्तफलले उपस्थित सबै सबैमा हार्दिक धन्यवादसहित आभार प्रकट गरे।

कार्यक्रममा विभिन्न साहित्यिक संस्थामा आबद्ध साहित्य अनुरागीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण कवि डाँडा साहित्य समाजका सचिव गणेश श्रवणले गरेका थिए।

कविडाँडा साहित्य समाजले विभिन्न पाँचवटा विधामा पुरस्कार प्रदान गर्दै आइरहेको छ। पुरस्कृत उपन्यास मनुले खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री पुरस्कार – २०७९ समेत प्राप्त गरेकाे छ।