टिकटक प्रतिबन्ध विरुद्धको रिट आजपनि हेर्न नभ्याइने सूचीमा
काठमाडौं ।सरकारले टिकटक प्रतिबन्ध लगाएको विरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले फेरी ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ।
बुधबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा रिटहरुमा सुनुवाइका लागि पेशी तोकिएको थियो। तर न्यायाधीशद्वय माथेमा र शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो।
टिकटक प्रतिबन्ध विरुद्धको रिट निवेदनहरु माथि सुनुवाइ गर्दै मंसिर ५ गते सर्वोच्चका न्यायाधिश विनोद शर्माको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै पूर्ण सुनुवाइको लागि मंसिर १९ गते मिति तोकेको थियो।
न्यायाधीश शर्माको इजलासले मङ्सिर १५ गतेभित्र टिकटक माथि प्रतिबन्ध लगाउनुको कारणसहितको लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको थियो।
तर मंसिर १९ गते पनि मंगलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा पेशी परेपनि हेर्न नभ्याईने सूचीमा रहेको थियो।
टिकटक प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णयविरुद्ध सर्वोच्चमा १४ रिट निवेदन परेका छन्। सबै रिटलाई एकै सूचीमा राखेर सुनुवाई गरिएको छ।
२०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। जसमा सामाजिक सदभाव खलल पुर्याएको हुँदा बन्द गरिएको सरकारले जिकिर गर्दै आएको छ।