दिनप्रतिदिन खस्किँदै गएको अर्थतन्त्रलाई ‘ट्रयाक’ मा ल्याउन प्रधानमन्त्री प्रचण्डले के गर्लान् ?
-अनुसा थापा
कानुनले जुवातास खेल्नलाई प्रतिबन्ध लगाएको छ। जुवातास खेल्ने क्रममा प्रहरीले समातेमा जरिवाना पनि तिर्नुपर्छ, कैद सजाय पनि भोग्नुपर्छ। तर, जुवातास खेल्ने क्रम रोकिएको छैन्। कतिपयले जुवातास खेलेर आफ्नो सम्पूर्ण सम्पत्ति सकाएका छन् त कतिपयले सम्पत्ति सकाएपछि आत्महत्याको बाटो रोजेको घटना छ।
जुवातास खेल्नेमध्ये एक जनाले मार्छ, हार्ने सुकुम्बासी बन्छ । शेयर पनि जुवातासजस्तै हो । मुलुकका ५५ जना शेयर खेलाडीले ६० लाख सर्वसाधारणलाई ‘उल्लु’ बनाइराखेका छन्। बैंकले प्रतिकित्ता एक सय रुपैयाँमा निकासा गरेको शेयर चार हजार रुपैयाँ पुर्याउने उनीहरु नै हुन्।
त्यही शेयरलाई तीन सय रुपैयाँमा झार्नमा पनि यिनकै हात छ । ५५ जनाले ६० लाख सर्वसाधारणलाई सुकुम्बासी बनाएका छन्, उनीहरुसँग भएको पैसा थुतेर खाएका छन्। चार हजार कित्तामा शेयर किन्नेहरु डुबेर तनावमा छन्। केहीले आत्महत्या गरे त कतिपयले आफ्नो होश्हवास गुमाएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले शेयर जुवा हो भनेका थिए। शेयरमा लगानी गर्दा होसियार हुनु भनेर उनले केही वर्षअघि खबरदारी गरेका थिए । शेयर दलालहरुले बजार उचाल्ने र पछार्ने गर्दै सर्वसाधारणलाई फसाए । दलालहरु आफू जोगिहालें, फसे सीधासाधी सर्वसाधारण ।
अहिले बजारमा आर्थिक मन्दी आउनुको तीन कारण छ। पहिलोः घरजग्गा, दोस्रोः शेयर, तेस्रोः गाडी । लहैलहैमा लाग्दा यी तीन क्षेत्रले सर्वसाधारणलाई नराम्ररी डुबाएको छ । यता, बैंक तथा वित्तिय संस्थाको पैसा पनि यतै फ्रिज भएको छ । तीन वर्षअघि घरजग्गा, शेयर र गाडीको मूल्य ह्वात्ह्वात्ती बढ्यो।
अहिले कारोबार नै ठप्प छ । जसका कारण मूल्य स्वाटै घटेको छ । वर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले केही दिनअघि एक कार्यक्रममा अर्थतन्त्र ठीकठाक रहेको बताए । आफू आएपछि अर्थतन्त्र सुध्रिएको उनको दाबी छ । सर्वसाधारणलाई उल्लु बनाउने पनि हद हुन्छ नि।
मालपोतमा गएर हेर्नुपर्यो, घरजग्गाको कारोबार कति फस्टाएको छ ? शेयर बजार र अटो बजार पनि पहिलेको अवस्थामा आइसकेको उनको भनाइ छ। उनलाई कहाँ गएर वित्तिय संस्था र सर्वसाधारणको पैसा फ्रिज भयो भन्ने नै थाहा छैन्। हावादारीको भरमा बोलिरहेका छन्।
सहकारी र लघुवित्त डुब्नु तथा बैंक तथा वित्तिय संस्था टाँट पल्टिनुको प्रमुख कारण घरजग्गा, शेयर र गाडी हो। नाफा चौब्बर हुने भएपछि बैंक तथा वित्तिय संस्था र सहकारीले आँखा चिम्लेर लगानी गरे । सहकारीहरु आफ्नो कर्जा लगानी उठाउन नसक्दा डुबिहालें।
व्यापार व्यवसाय ठप्प छ। बजार आर्थिक मन्दीले छपक्कै छोपेको छ। हिजो बानेश्वरस्थित अन्तर्राष्ट्रिय भवनपछाडि एक जना व्यक्ति एउटा एक हजार रुपैयाँको नोट साट्नका लागि २० वटा पसल धाए । तैपनि सटही हुन सकेन् । व्यापारीहरु ‘बोनी’ नभएको भन्दै हजारको नोट साट्न मानिरहेका थिएनन्।
बिहानदेखि पसल खोल्दासमेत दिँउसोसम्म बोनी हुन नसकेको भन्दै उनीहरु गुनासो पोखिरहेका थिए । जतिबेला पनि मान्छेको भीड हुने अन्तर्राष्ट्रिय भवन पछाडिको हालत त यस्तो छ भने अरु स्थानमा के होला ? बजारमा यस्तो मन्दी छ तर मुलुकका अर्थमन्त्री शेयर र घरजग्गाको अर्थतन्त्र चलायमान बनाइसकेको बताउँछन्।
सर्वसाधारण कुन अवस्थाबाट गुज्रिरहेका छन् भन्ने उनलाई थाहा छैन् । बस् आफ्नो कुर्सी टिकाउनु छ उनलाई । मुलुकमा बेरोजगारीको दर बढिरहेको छ। काम नपाउँदा सर्वसाधारणहरुलाई छाक कसरी टार्ने ? भन्ने समस्याले पिरोलेको छ । बजारमा पाँच सय र हजारको नोटको हाहाकार छ।
भएकाहरुले घरमा लुकाएका छन्। बजारमा त्यो पैसा निस्किन पाएको छैन् । पैसा बजारमा ननिस्किन अर्थतन्त्र कसरी चलायमान हुन्छ ? घरमा पैसा लुकाएकाहरुले मीटरब्याजमा कर्जा लगानी गरिराखेका छन् । तराई–मधेशमा मौलाएको मीटरब्याजको रोग अहिले काठमाडौं उपत्यका र अन्य जिल्लामा सरेको छ।
एक करोड रुपैयाँको घरजग्गा मीटरब्याजीहरुले २५ देखि ३० लाखमा पास गरेर लगिरहेका छन् । ६ महिनादेखि एक वर्षको समयावधि दिने, तिर्न सकेन् भने खाइदिन्छन्। अब उपत्यकालगायत अन्य जिल्लामा सुकुम्बासीहरुको दर बढ्ने निश्चित छ । यता, नामसारीको राजश्व पनि कर्जा लिनेबाटै उठाउँछन्।
सरकारले साँच्नै नै अर्थतन्त्र ट्रयाकमा ल्याउने हो भने पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्छ । मन्त्रिपरिषद्ले त्यो निर्णय गर्न ढिलाइ भइसकेको छ। सरकारले यो निर्णय गर्ने हो भने व्यक्तिहरुले घरमा लुकाएको पैसा बैंकमा आउँछ । राज्यलाई टाँट पल्टाउने अनि आफू सम्पत्ति जोड्ने प्रवृत्ति नेपालमा मौलायो।
भ्रष्टाचार गरेको पैसा पनि घरमै थुपारेका छन्। राजश्व छलेको, मीटरब्याजमा लगानी गरेको पैसा घरमा लुकाइएको छ । सहकारीले पैसा खाइदिएपछि सर्वसाधारणले बैंकमा पनि पैसा राख्न छोडे । सबैले पैसा घरमै राख्न थालें । नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाइरहेको छ तर त्यो कहाँ छ ? थाहा छैन्।
बजारमा पैसा घुमिरहेको छ कि छैन् ? राष्ट्र बैंकलाई मतलब छैन्। आधाभन्दा बढी त घरमा थुप्रिरहेको छ अनि बजार कसरी चलायमान हुन्छ ? बैंकले एकैचोटि सबै बचत दिइराखेको छैन् । पैसा एकमुष्ट नदिएपछि निक्षेपकर्ताहरुले थरीथरीका अड्कलबाजी लगाउन थालेका छन् ।
लघुवित्त र सहकारीबाट सर्वसाधारणले चेतिसकेका छन्।
ब्याजको लोभ देखाएपनि राख्दैनन्, आफ्नै आफन्त भएपनि विश्वास गर्दैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधार्न प्रयास गरिराखेका छन् । उनी एक्सनमा जानुपर्छ भनिरहेका छन् । तर, अर्थमन्त्री महत र गर्भनर महाप्रसाद अधिकारीले उनलाई झुल्याउने कार्य गरिरहेका छन् ।
जग्गाको कित्ताकाट खोल्दा पनि घरजग्गा कारोबार बढेको छैन् । अर्कोतिर, सरकारले शेयरमा भएको १२ करोडको सीमा हटाएको छ । तैपनि, कुनै प्रभाव परेको छैन् । प्रत्येक दिन सटर, कोठा र फ्ल्याट खाली भइरहेको छ । व्यवसायीहरुले धमाधम व्यवसाय छोडिरहेका छन्। काम गर्ने ठाउँमा तलब नदिएर कामदारहरु भोकभोकै परेका छन्।
एकातिर काम पाउँदैन् अर्कोतिर काम गरेको पनि तलब पाउन सकिएको छैन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मुलुक छोड्नेको भीड छ। लक्ष्यअनुरुप राजश्व संकलन हुन सकेको छैन्। प्रधानमन्त्री प्रचण्डले यी कुरामा ख्याल गर्नुपर्छ। प्रधानमन्त्री माओवादी, अर्थमन्त्री कांग्रेस र गर्भनर एमालेका छन्।
कांग्रेस र एमालेले आउने चुनावमा माओवादीलाई सकाउनुपर्छ भन्ने दाउ खेलिरहेका छन् । प्रधानमन्त्रीलाई असफल बनाउन उनीहरु लागेका छन्। उनीहरुले जसरी हुन्छ, प्रधानमन्त्रीलाई अल्माउने र काम गर्न नदिने षड्यन्त्र रचेका छन् । प्रधानमन्त्रीले यसबारे ख्याल गर्न जरुरी छ।
प्रधानमन्त्री प्रचण्डले कि अर्थमन्त्री र गर्भनरलाई हटाउनुपर्यो कि पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्यो । होइन् भने आफूले काम गर्न नसकेको भनि राजीनामा दिनुपर्यो। जो आएपनि अर्थतन्त्र ट्रयाकमा ल्याउन गाह्रो छ । किन कि मुलुक विदेशी ऋणमा फसिसकेको छ।
जनताले तिरेको करले सरकारी खर्च धान्न सक्दैन्, ऋण कहाँबाट तिर्नु ? नेपालमा भएका उद्योग, कलकारखाना सबै बन्द भइसक्यो। बैंकहरु डुबेर मर्ज भएका छन्। बैंकले शेयर होल्डरहरुलाई बोनस दिन सकेको छैन्। बैंकको शेयर बेच्ने यत्तिकै छन्, किन्ने कोही छैन्। अर्थमन्त्रीले अझैपनि मुलुकको अर्थतन्त्र ठीकठाक छ भन्नु जनतालाई भ्रम छर्नु हो।
र, सञ्चारमाध्यमलाई ढाँट्नु हो । अझैपनि सर्वसाधारण ‘अनपढ’ छन् भन्ने यिनीहरुले सोचेका छन्। अर्थमन्त्री र गर्भनरका कारणले मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तै हुने भो । अब प्रधानमन्त्री एक्सनमा जानुपर्छ।