त्रिभुवन विमानस्थलबाट ५५ किलो गाँजा बरामद
काठमाडौं। अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ। १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा गाजा शुक्रबार राति भन्सार जाँच हुनुअघि बरामद गरिएको हो।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो।
त्यसक्रममा एउटा फर्मको नाममा आएको कार्टुनमा चेकजाँच गर्दा गाँजा भेटिएको थियो। उक्त बरामद भएको गाजाको तौल ५५ केजी रहेको विमानस्थल भन्सारले जनाएको छ।
उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएको छ।