एनसेल प्रकरणमा नेता, व्यापारी र कर्मचारीको मिलेमतो: नेता कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रष्टाचारमा राजनीतिक दलहरु डुबेका कारण बिभिन्न प्रकरणहरु सार्वजनिक भइरहेको बताएका छन्।
विराटनगरमा शनिबार दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आयोजना गरेको पुरस्कार समर्पण कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म ठूला ठूला भ्रष्टाचार हुनै नसक्ने बताएका हुन्। उनले अहिले मुलुकका राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढेको बताए।
एनसेल प्रकरणमा राजनीतिक दलका नेता, व्यापारी र कर्मचारीको मिलेमतोमा अरबौं रुपैयाँका भ्रष्टाचार भएको उनले बताए। नेता कोइरालाले राजनैतिक दलका नेता र नेतृत्वका कारण व्यवस्था प्रति नै जनताको वितृष्णा बढेकाले सच्चिएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे।
कार्यक्रममा ५१ हजार राशीको भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठलाई र २५ हजार राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ।