लागूऔषधसहित ११ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। देशका विभिन्न स्थानबाट लागूओषधसहित ११ जाना पक्राउ परेका छन्। कपिलवस्तु, बाणगंगा नगरपालिका-२ पिपरा डेरा गरी बस्ने नवलपरासी देवचुली नगरपालिका-२ बस्ने २३ वर्षीय मुक्ति प्रसाद खनाल समेत ६ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ, नगद ३ लाख ८ हजार ८४० रुपैयाँ, मोबाइल ९ थान, सुनको जस्तो देखिने धातुको सिक्री १ थान, माईली तिलहरी १ थान, घण्टी माला १ थान, सुनको जस्तो देखिने औंठी १ थान, चाँदीको जस्तो देखिने धातुको बाला १ थान, पाउजु १ जोडी फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले लु.३९ प ८२८२ नम्बर र लु.३६ प ३९१९ नम्बरका २ वटा मोटरसाइकल समेत बरामद गरेको छ।

कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर ७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय शंकर खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसैगरी कैलाली लम्कीचुहा नगरपालिका-५ चौरी बस्ने १९ वर्षीय कमल रावललई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्रामसहित ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ।

मोरङ, बिराटनगर महानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ मिलिग्रामसहित सुनसरी हरिनगरा गाउँपालिका-१ बस्ने ३५ वर्षीय नाजिम अंसारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जोगवनीबाट बिराटनगरतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध एभिल ६ एम्पुल, फेनारागन ५ एम्पुल, लुपिजेशिक ६ एम्पुल र डाइजेपाम ६ एम्पुलसहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय रोहन गुरूङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६० ट्याबलेटसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।