ललितपुर महानगरमा सुरु भयो स्वास्थ्य बीमा
काठमाडौं। ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएसँगै देशभरका ७ सय ५० स्थानीय तहमा बीमा कार्यक्रममा लागूभएको छ । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो।
स्वास्थ्य बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिका गरी ३ स्थानीय तहमा बीमा कार्यक्रम लागू हुन बाँकी छ। उनका अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५० स्थानीय तहमा बीमा कार्यक्रम लागू भएको छ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्थानीय तहमा पहिलो सेवा बिन्दु हुनुपर्ने उल्लेख छ। काठमाडौँ जिल्लामा पर्ने एक महानगरपालिका र दुई नगरपालिकामा पहिलो सेवा बिन्दु नभएकाले सेवा लागू हुन नसकेको कँडेलले बताइन्।
वि.सं २०७२ साल २५ चैतमा कैलालीबाट सुरु भएको यो कार्यक्रममा पाँच जनाको परिवारमा तीन हजार पाँच सय रुपियाँ प्रिमियम तिर्दा एक लाख रुपियाँसम्मको उपचार सुविधा पाइने उनले बताइन्।