प्रधानमन्त्री हुने पालो आउँदैछ भनेर मौन नबसौं: नेता पौडेल

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री बन्ने पालो आउँदैछ भनेर मौन बस्न नहुने बताएका छन्।

पोखरामा मंगलबार भएको गण्डकी कांग्रेसको प्रथम सम्मेलनमा बोल्दै पौडेलले सरकारले गरेका नराम्रा काममा समर्थन गर्न नहुने बताए।

‘हामीले समर्थन गरेको गठबन्धनको प्रधानमन्त्रीले कति महिनाभित्र के-के काम गर्ने हो भन्ने कुरा स्पष्ट भन्न सक्नुपर्छ,मञ्चमा रहेका सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै पौडेलले भने, ‘मेरो पालो आउँदैछ, सरकारले केही पनि गरेन भने पनि मैले बोल्न हुँदैन भनेर हामी नबसौं।

सरकारले काम गरेन भने प्रधानमन्त्री हुने पालो आए पनि ०८४ को चुनावमा केही नहुने उनले बताए। ०८४ को चुनावमा हामीले जित्ने स्थिति बन्यो भने अहिले पालो नपाए पनि त्यसबेला पालो पाइन्छ, उनले भने, आजको परिस्थितिमा सरकारमा गएका साथीहरूलाई हामीले मार्गनिर्देश गर्नुपर्छ।

उनले काम नगर्ने भए सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्ने बताए। उनले अबको चुनावमा उम्मेदवार छान्दा केन्द्रबाट नभई प्राइमरी इलेक्सनबाट उम्मेदवार छानिनुपर्ने बताएका छन्।