महिला क्रिकेटमा लुम्बिनीमाथि सुदूरपश्चिमको जित

काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ। त्यसक्रममा सुदूरपश्चिमले लुम्बिनीलाई ९ विकेटले हराएको छ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको ७२ रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले ९.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो।

सुदूरपश्चिमलाई जिताउन नट आउट रहेका कविता जोशीले २४ तथा रेवती धामीले १७ रन बनाए। रुबी पोदारले १४ रन बनाइन्।

यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी २० ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्र बनाउन सकेको थियो। लुम्बिनीका लागि सरस्वती पुनले १९ र आश्मा पुन मगरले १६ रन बनाए।

सुदूरपश्चिमका लक्ष्मी साउदले २ तथा इश्वरी विष्ट, अनु खडायत र रितु कनौजियाले समान १ विकेट लिए।

प्रतियोगितामा पहिलो जित हात पारेको सुदूरपश्चिम आफ्नो पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो। लुम्बिनीले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई हराएको थियो।

प्रतियोगितामा सहभागी ८ टिमले २ -२ खेल खेल्दा एपीएफ र कोशीले समान ४ अंक बटुलेका छन्।

सुदूरपश्चिम, गण्डकी,बागमती र लुम्बिनीले समान २ अंक पाएका छन्। मधेश र कणालीले भने दुवै खेल हारेका छन् र उनीहरुले कुनै अंक बटुलेका छैनन्। सहभागी सबै ८ टिमले एक अर्कासँग खेलेपछि शीर्ष ४ टोली अघिल्लो चरणमा पुग्ने छन्।