प्राधिकारणले काट्यो विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन

काठमाडौं । लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका केही उद्योगको लाइन शुक्रबार साँझदेखि सरकारले काटिदिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका थिए।

उनले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिएलगत्तै भोलिपल्ट प्राधिकरणले केही उद्योगको लाइन काटिदिएको हो।

साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो। प्राधिकरणका अनुसार, जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ।

प्राधिकरणका अनुसार जगदम्बाले मात्रै चार अर्ब १४ करोड रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ। यस्तै, रिलायन्सले एक अर्ब ९४ करोड, घोराही सिमेन्टले एक अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ। प्राधिकरणका अनुसार, अर्घाखाँची सिमेन्टले एक अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ।