बालकुमारीमा प्रदर्शन गर्ने ५० भन्दा बढी पक्राउ

काठमाडौं। ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा संलग्न आरोपमा पक्राउ पर्नेहरुको संख्या ५० नाघेको छ। पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।

मन्त्री चढ्ने गाडी प्रदर्शनकारीले जलाएसँगै प्रहरीले आन्दोलनकारीविरुद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। दैलेख घर भएका सुजन रावत र डोटी घर भएका विरेन्द्र शाहको मृत्यु भएको प्रहरी प्रवक्ता (डिआईजी) कुवेर कडायतले रातोपाटीलाई बताए।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२झ ५८६१ नम्बरको गाडी जलाएका छन्।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले ग्वार्को क्षेत्रमा गरेको प्रदर्शनका कारण शुक्रवार सो क्षेत्र तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस र त्यसपछि गोली चलाएको थियो।

कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरुको समूहले ईपिएस कार्यालय अगाडि चक्रपथमा आगजनी गरेका हुन्।