धनगढीलाई हराउँदै नेपाल सुपर लिगको उपाधि ललितपुरलाई

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ। शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो। उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ।

गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित हुँदै २० लाख रुपैयाँ पाएको छ। खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो। खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन।

ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र ५८ औं मिनेटमा पनि इमोह इजेकेलले गोल गरे।

प्रतियोगितामा फेयर प्लेको उपाधि वीरगञ्ज युनाइटेडले पाएको छ। त्यस्तै उदीयमान खेलाडीको उपाधि धनगढीका रोहन कार्कीले पाएका छन्। सर्वोत्कृष्ट गोलकिपरको ललितपुरका जेफ्री विली मार्सल बाल्टुस घोषित भएका छन्। कार्की र जेफ्रीले जनही एक लाख रुपैयाँ पाएका छन्।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता ललितपुर सिटी एफसीका इमोह इजेकेल बनेका छन्। ६ गोल गरेका उनले गोल्डेन बुटसँगै एक लाख रुपैयाँ पाएका छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ललितपुरका अनन्त तामाङ बनेका छन्। उनले गोल्डेन बलसँगै २ लाख रुपैयाँ पाएका छन्।